कीर्तिपुर नगरपालिका वडा नं. १० स्थित पोडेटोलमा एक युवकको ज्यान लिने उद्देश्यले धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गुल्मीको धुर्कोट घर भई हाल कीर्तिपुर बस्दै आएका २२ वर्षीय विपिन घिमिरेको यस घटनामा मृत्यु भएको हो।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको विशेष टोलीले घटनामा संलग्न रहेको आशंकामा अछामका महेन्द्र शाह तथा कैलालीका रबिन्द्र धामी र रोशन बिष्टलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू २२ देखि २५ वर्ष उमेर समूहका रहेका छन्।
काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि अभियुक्तहरूलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। २०८३ वैशाख २३ गते दिउँसो भएको उक्त घटनाको कारणबारे प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको छ।
अदालतबाट प्राप्त म्यादभित्र प्रहरीले घटनाको चुरो पत्ता लगाउन र कानुनी प्रक्रिया पुरा गर्न थप प्रमाणहरू संकलन गरिरहेको छ।