काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य र अर्को राजनीतिक दलकी महिला प्रदेश सभा सदस्यबीच भएको आपत्तिजनक संवादको समाचार सार्वजनिक भएपछि, त्यसको राप मिडियासम्मै पुगेको छ। समाचारमा दुवै पात्रको नाम र पहिचान गोप्य राखेर नियमानुसार सम्प्रेषण गर्दा समेत अनलाइन न्युज पोर्टल ‘नेपाल आज’ लाई नै धम्की आएको छ।

फेसबुक म्यासेजमार्फत धम्की र कार्यालयको लोकेसन माग

‘नेपाल आज’ को आधिकारिक फेसबुक पेजको म्यासेज बक्समा ‘Basan Ta’ नामक प्रोफाइलबाट धम्कीपूर्ण सन्देशहरू पठाइएका छन्। उक्त सन्देशहरूमा कार्यालयको लोकेसन माग्दै “खोजेर आउन नपरोस्” भन्ने चेतावनी दिइएको छ। साथै, बाहिरिएको अडियोलाई ‘एआई (AI) निर्मित’ भएको दाबी गर्दै भाइरल हुन र लाइक-भ्युजका लागि समाचार हालिएको आरोप लगाइएको छ।

‘पीडित महिलाले कस्तो सास्ती खेपेकी होलिन्?’

ADVERTISEMENT Nepal Aaja Register

नाम र पहिचान नखुलाई निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्दा त मिडियालाई नै यसरी खुला धम्की आउँछ भने, प्रत्यक्ष पीडित बनेकी ती महिला सांसदले कतिसम्मको मानसिक र सामाजिक धम्की सामना गरिरहेकी होलिन् भन्ने गम्भीर प्रश्न उठेको छ। ‘चोरको खुट्टा काट् भन्दा चोरले आफैँ खुट्टा उचालेको’ जस्तै गरी यसरी धम्की आउनुले दोषी पक्षको आकुलव्याकुलतालाई उजागर गरेको छ।

पत्रकारिताको अस्वाभाविक र अमानवीय होड

यसैबीच, यस संवेदनशील घटनालाई लिएर पत्रकारिता क्षेत्रभित्रै पनि अमानवीय र गैरजिम्मेवार व्यवहार देखिएको छ। घटनाको गम्भीरता र पीडितको संवेदनशीलतालाई बेवास्ता गर्दै कतिपय पत्रकारहरूले सिधै पीडित महिलालाई नै “अडियोको पात्र तपाईँ नै हो?” भन्दै सोधेर समाचार बनाउने अशिष्ट होडबाजी चलाएकोप्रति पनि चिन्ता व्यक्त गरिएको छ।

नक्कली अकाउन्टबाट धम्की, प्रहरीमा जाहेरी दिने तयारी

धम्की दिने फेसबुक अकाउन्ट नक्कली (फेक) रहेको आशङ्का गरिएको छ। मिडियालाई धम्क्याएर सत्यतथ्य दबाउन खोज्ने यस्ता आपराधिक मनसायविरुद्ध ‘नेपाल आज’ ले सशक्त कदम चाल्ने जनाएको छ। यस्ता साइबर अपराध र धम्की दिने व्यक्ति/समूहलाई कानुनी दायरामा ल्याउन आवश्यक परे प्रहरीमा औपचारिक जाहेरी दिन आफूहरू पूर्ण रूपमा तयार रहेको ‘नेपाल आज’ ले स्पष्ट पारेको छ।