काठमाडौंको नागार्जुन नगरपालिकामा लुकाइछिपाई राखिएको ठूलो परिमाणको लागु औषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले चैत १८ गते साँझ ६ बजेतिर नागार्जुन-३ स्थित सिता बाल विकास माध्यामिक विद्यालय नजिकैबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका-५ घर भई हाल नागार्जुनमा डेरा गरी बस्ने २४ वर्षीय सुनिल गोले (सुनिल चिम्से) रहेका छन्। प्रहरीले उनको कोठा खानतलासी गर्दा ४ हजार ६ सय ८० क्याप्सुल ट्रामाडोल र १४५ ट्याब्लेट नाइट्राजेपाम फेला पारेको थियो।

यसका साथै उनको साथबाट ६० एम्पुल डाइजापाम, ५८ एम्पुल फेनार्गन र ५८ एम्पुल नुर्फिन समेत बरामद गरिएको छ। प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार गोेलेको साथबाट तीन थान मोबाइल र १७ हजार ३ सय रुपैयाँ नगद समेत जफत गरिएको छ।

ADVERTISEMENT Xtreme - Inside

पक्राउ परेका गोलेमाथि थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। स्कुल नजिकैको बस्तीमा यति ठूलो परिमाणमा नशालु औषध फेला पर्नुले सुरक्षा चुनौती थपेको छ।

प्रहरीले यस कारोबारमा अन्य व्यक्तिको संलग्नता हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाएको छ।