अबुधाबी, ११ अप्रिल । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको खोजतलास, उद्धार, क्षतिपूर्ति र मृत्यु भएकाहरूको शव नेपाल पठाउने प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नेपाली राजदूतावास, अबुधाबीले सम्पूर्ण आवेदनहरू अनिवार्य रूपमा अनलाइन पोर्टलमार्फत दर्ता गर्न आग्रह गरेको छ।

त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागले केही समय अगाडिदेखि सञ्चालनमा ल्याएको अनलाइन पोर्टल (https://legal.nepalconsular.gov.np/) मार्फत अब सम्पूर्ण सरोकारवाला व्यक्ति, निकाय, सामाजिक संघ–संस्था र आफन्तहरूले निवेदन दिनुपर्नेछ। राजदूतावासका अनुसार, आधिकारिक रेकर्ड राख्न र कामकारबाहीमा एकरूपता ल्याउन यो व्यवस्थालाई अनिवार्य गरिएको हो।

यस पोर्टलमार्फत विभिन्न पालिका, जिल्ला प्रशासन कार्यालय, कन्सुलर विभाग वा व्यक्तिगत रूपमा दर्ता गरिएका निवेदनहरू सिधै सम्बन्धित देशका दूतावासहरूमा पुग्नेछन्। यसरी प्राप्त निवेदनमाथि भएका कारबाहीको अपडेट दूतावासले सीधै प्रणालीमा प्रविष्ट गर्ने र निवेदकले सहजै आफ्नो निवेदनको अवस्था (Status) हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

निवेदन दर्ताका लागि आवश्यक विवरण र सर्तहरू:

  • खोजतलास तथा उद्धारको हकमा: खोजतलास गर्नुपर्ने व्यक्तिको राहदानी (Passport), इमिरेट्स आइडी (Emirates ID) को प्रतिलिपि, कार्यरत इमिरेट्स (Emirate) र कम्पनीको विवरण अनिवार्य रूपमा खुलाउनु पर्नेछ।

  • सम्पर्क विवरण: निवेदन दिने व्यक्ति र सम्बन्धित व्यक्तिबीचको नाता र सम्पर्क नम्बर स्पष्ट हुनुपर्नेछ।

  • क्षतिपूर्तिको हकमा: क्षतिपूर्ति सम्बन्धी निवेदन भने कानुनी हकवाला व्यक्तिले मात्र सम्बन्धित पालिका वा कन्सुलर विभागमार्फत दिन सक्ने व्यवस्था गरिएको छ।

दूतावासले जारी गरेका महत्त्वपूर्ण जानकारीहरू:

  • दोहोरो दर्ता गर्नु नपर्ने: एक पटक प्रणालीमा दर्ता भइसकेको निवेदन अरूले पुनः दोहोर्याएर दर्ता गरिरहनु पर्दैन।

  • सहज पहुँच र ट्र्याकिङ: सम्बन्धित निवेदकले आफ्नो निवेदनको अवस्था (Status/Update) आफैँ अनलाइनबाटै हेर्न सक्नेछन्।

  • जहाँबाट पनि निवेदन दिन सकिने: सम्बन्धित व्यक्तिका परिवारका सदस्य वा आफन्तले जुनसुकै स्थानबाट पनि यस पोर्टलमा निवेदन दर्ता गराउन सक्नेछन्।

गुनासो सुनुवाइ, खोजतलास तथा उद्धार प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस प्रणालीको पूर्ण रूपमा सदुपयोग गर्न दूतावासले १० अप्रिलमा जारी गरेको सूचनामार्फत सबैमा अनुरोध गरेको छ।