नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालको प्रयोग गरी जथाभावी चिकित्सा परामर्श दिने र औषधि सिफारिस गर्ने चिकित्सकहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ। काउन्सिलले एक जरुरी सूचना जारी गर्दै बिरामीको प्रत्यक्ष स्वास्थ्य परीक्षण नगरी उपचार सल्लाह दिने र औषधि सुझाउने कार्य तत्काल बन्द गर्न कडा निर्देशन दिएको हो।
काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवद्वारा हस्ताक्षरित विज्ञप्तिमा टिकटक, इन्स्टाग्राम र फेसबुक जस्ता माध्यमबाट बिना परीक्षण औषधि सिफारिस गर्नुलाई गैरजिम्मेवार र अवैज्ञानिक कार्यका रूपमा व्याख्या गरिएको छ। यस्ता गतिविधिले बिरामीको ज्यान जोखिममा पर्न सक्ने भन्दै काउन्सिलले गम्भीर चासो व्यक्त गरेको छ।
स्वास्थ्य सेवाको संवेदनशीलतालाई ध्यानमा राख्दै चिकित्सकहरूले पेशागत आचारसंहिताको अनिवार्य पालना गर्नुपर्नेमा काउन्सिलले जोड दिएको छ। अनलाइनमार्फत उपचार सल्लाह दिँदा वा बिरामीसँग सम्बन्धित सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयता भंग भइरहेको तर्फ पनि सचेत गराइएको छ। अबदेखि कुनै पनि स्वास्थ्य सामग्री सार्वजनिक गर्दा बिरामीको अनुहार र पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ।
काउन्सिलले जारी गरेको यो निर्देशन उल्लंघन गर्ने चिकित्सकहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारिएको छ। डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै सिर्जना भएका स्वास्थ्य जोखिम न्यूनीकरण गर्न यो कदम चालिएको देखिन्छ।