नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार सन् २०२६ को मार्च महिनामा कुल १ लाख २० हजार ५ सय १६ जना वैदेशिक पर्यटक नेपाल भित्रिएका छन्। समग्र आगमन संख्या सन्तोषजनक देखिए पनि युरोप र अमेरिका जस्ता विकसित मुलुकबाट आउने पर्यटकको संख्यामा भने उल्लेख्य कमी आएको छ।

विशेष गरी दक्षिण एशियाली (सार्क) क्षेत्रबाट पर्यटकको आगमन निकै बलियो देखिएको छ। कुल आगमनको करिब ३५.४ प्रतिशत हिस्सा सार्क मुलुकले ओगटेका छन्, जहाँ भारतबाट सबैभन्दा बढी २५ हजार ७ सय २८ जना पर्यटक आएका छन्। यस्तै श्रीलंका र बंगलादेशबाट आउनेहरूको संख्या पनि उल्लेख्य रहेको छ।

चीन लगायतका अन्य एशियाली देशहरूले पनि नेपालको पर्यटन बजारलाई ठूलो राहत दिएका छन्। समीक्षा अवधिमा चीनबाट ११ हजार २ सय २० जना पर्यटक आउँदा म्यानमार र थाइल्याण्डबाट पनि उत्साहजनक सहभागिता देखिएको छ। समग्रमा 'अन्य एशिया' क्षेत्रबाट ३३ हजार ४ सय ३६ पर्यटक नेपाल भित्रिएका छन्।

यसको विपरित, युरोपेली बजारबाट आउने पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले ह्रास आएको छ। बेलायत, फ्रान्स र जर्मनी जस्ता देशहरूबाट नेपाल भ्रमणमा आउनेहरूको संख्या घट्दो क्रममा छ। यस्तै, अमेरिकी पर्यटकको आगमनमा पनि भारी गिरावट आएको बोर्डको तथ्यांकले देखाउँछ।

मध्यपूर्वमा बढ्दो तनावका कारण युरोप र अमेरिकाबाट हुने लामो दुरीको हवाई यात्रामा असर परेको विश्लेषण गरिएको छ। यद्यपि संख्यात्मक रूपमा कम भए पनि युरोप र अमेरिकाका पर्यटकलाई बढी खर्च गर्ने श्रेणीमा राखिने हुनाले उनीहरूको संख्या घट्नुले पर्यटन आयमा प्रभाव पार्ने देखिन्छ।

ऐतिहासिक तथ्यांक हेर्दा यो महिनाको आगमन सन् २०२५ को मार्च (१ लाख २१ हजार ६ सय ८७) र कोभिड अघिको मार्च (१ लाख २७ हजार ३ सय ५१) को तुलनामा अझै केही कम छ। विश्वव्यापी परिस्थितिलाई मध्यनजर गर्दै महँगा पर्यटक भित्र्याउन नयाँ रणनीति आवश्यक देखिएको छ।