फिफा विश्वकप–२०२६ का लागि ब्राजिलको २६ सदस्यीय आधिकारिक टोलीको घोषणा गरिएको छ। टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सोलोट्टीले घोषणा गरेको यस टोलीमा सबैभन्दा धेरै ध्यान अनुभवी फरवार्ड नेयमारको पुनरागमनले खिचेको छ।

पछिल्लो समय लगातार चोटको सामना गरिरहेका नेयमारले सन् २०२३ यता ब्राजिलका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। हाल उनी आफ्नो स्वभाविक लयमा नदेखिए तापनि प्रशिक्षक एन्सोलोट्टीले उनको अनुभव र टोलीप्रतिको योगदानलाई विश्वास गर्दै टोलीमा समेटेका हुन्।

ब्राजिलका लागि १२८ खेल खेल्दै ७९ गोल गरिसकेका ३४ वर्षीय नेयमारका लागि यो चौथो विश्वकप हुनेछ। यसअघि उनले २०१४, २०१८ र २०२२ को विश्वकपमा ब्राजिलको ओलिम्पिक र विश्वकप यात्रामा प्रतिनिधित्व गरिसकेका छन्।

घोषित टोलीको गोलरक्षकको जिम्मेवारी लिभरपुलका अलिसन, फेनरबाचेका एडर्सन र ग्रेमियोका वेभर्टनलाई दिइएको छ। त्यसैगरी रक्षापंक्ति (डिफेन्डर) मा एलेक्स सान्द्रो, डानिलो, लियो पेरेरा, ब्रेमर, इबानेज, वेस्ली, मार्किन्होस, गाब्रियल र डगलस सान्तोस रहेका छन्।

ADVERTISEMENT Xtreme - Inside

मिडफिल्ड सम्हाल्ने जिम्मा न्यु क्यासलका ब्रुनो गिमारेस, म्यानचेस्टर युनाइटेडका कासेमिरो, बोटाफोगोका डानिलो सान्तोस, अल-इत्तिहादका फाबिन्हो र फ्लामेङ्गोका लुकास पाक्वेटाले पाएका छन्।

त्यस्तै फरवार्ड लाइनमा नेयमारसँगै रियल म्याड्रिडका भिनिसियस जुनियर र बार्सिलोनाका राफिन्हा जस्ता स्टार खेलाडीहरू रहेका छन्। टोलीमा एन्ड्रिक, गेब्रियल मार्टिनेली, इगोर थियागो, माथेउस कुन्हा, लुइज हेनरिके र रायनलाई पनि समावेश गरिएको छ।

यो घोषणासँगै ब्राजिलियन फुटबल प्रेमीहरूमा नयाँ उत्साह थपिएको छ। चोटमुक्त हुँदै टोलीमा फर्किएका नेयमारको नेतृत्व र युवा खेलाडीहरूको जोसले यस पटक ब्राजिललाई कस्तो नतिजा दिलाउने हो भन्ने कुरा आगामी खेलहरूले नै तय गर्नेछ।