सन् १९९५ देखि बेपत्ता पारिएका ११ औं पञ्चेन लामा गेधुन चोकी न्यिमाको आगामी अप्रिल २५ मा ३७ औं जन्मोत्सव मनाइँदैछ। ६ वर्षको बाल्यकालमै सार्वजनिक जीवनबाट ओझेल परेका लामाको अवस्था ३० वर्ष बितिसक्दा पनि अझै अज्ञात छ, जसलाई आधुनिक इतिहासकै सबैभन्दा लामो इन्फोर्स्ड डिसापेयरन्स (जबरजस्ती बेपत्ता) को घटना मानिन्छ।

चौधौं दलाई लामाले उनलाई पञ्चेन लामाको रूपमा मान्यता दिएको केही समयमै उनी बेपत्ता भएका थिए। तिब्बती समुदायका लागि यो केवल एक व्यक्तिको अनुपस्थिति मात्र नभई उनीहरूको धार्मिक स्वतन्त्रता र बौद्ध पहिचानमाथिको गम्भीर प्रहारको रूपमा हेरिएको छ।

यसै सन्दर्भमा बेलायतको लन्डनस्थित प्लमस्टिडमा रहेको पाल्युल सेन्टरमा एक विशेष स्मृति सभाको आयोजना गरिएको छ। बेलायती तिब्बती समुदायले आयोजना गर्ने उक्त कार्यक्रममा प्रार्थना र छलफल हुनेछ। कार्यक्रममा लन्डनस्थित तिब्बती कार्यालयकी प्रतिनिधि छिरिङ याङकी र समुदायका अध्यक्ष फुन्छोक नोर्बुलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

टासी ल्हुन्पो यूके ट्रस्टका ट्रस्टी माइकल ह्वाइटवुडले पनि कार्यक्रममा सहभागी भई लामाको अवस्थाबारे विश्वको ध्यानाकर्षण गराउनेछन्। निर्वासनमा रहेर पनि आफ्नो आध्यात्मिक परम्परालाई जीवित राख्न तिब्बतीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

यो दिवसले पञ्चेन लामालाई विश्व राजनीतिको ओझेलमा पर्न नदिने तिब्बतीहरूको संकल्पलाई पुनः ताजा गराएको छ। भविष्यमा उनको अवस्थाबारे सत्यतथ्य बाहिर आउने आशामा अन्तर्राष्ट्रिय अधिकारवादीहरूले पनि यस विषयलाई निरन्तर उठाइरहेका छन्।