जनकपुर। मधेस प्रदेश सरकारका विकास योजना दिलाइदिने भन्दै अग्रिम रकम तथा कमिसन उठाएको आरोपमा पक्राउ परेका रामेश्वर पराजुली रकम फिर्ता गरेलगत्तै पुनः पक्राउ परेका छन्।
सिरहाका कमल यादवबाट योजनाको काम मिलाइदिने भन्दै लिएको भनिएको ८ लाख रुपैयाँसहितको रकम फिर्ता गरेपछि सिरहा प्रहरीले दुवै पक्षबीचको सहमतिका आधारमा पराजुलीलाई रिहा गरेको थियो। तर, रिहा भएको केही समयमै उनलाई महोत्तरी प्रहरीले पुनः पक्राउ गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार पराजुलीमाथि महोत्तरीमा पनि विकास योजनाको नाममा १ करोड रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ। मधेस प्रदेशका विभिन्न जिल्लामा विकास योजना पारिदिने भन्दै उनले कमिसन उठाएको आरोपसमेत लागेको छ।
पराजुलीलाई तत्कालीन समयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा तत्कालीन अर्थमन्त्री सञ्जयकुमार यादवको कार्यकालमा योजना मिलाइदिने नाममा रकम संकलन गर्ने व्यक्तिका रूपमा प्रयोग गरिएको आरोप स्रोतले लगाएको छ। स्रोतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उनका छोरा अमरेन्द्र यादवसँग समेत पराजुलीको निकट सम्बन्ध रहेको र उनीहरूकै संरक्षणमा कमिसन उठाउने काम गरेको आरोप लगाएको छ। यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
स्रोतका अनुसार पराजुलीले मधेस प्रदेशका सबैजसो जिल्लामा विकास योजना तथा बजेट निकासा गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको आरोप छ। कतिपय व्यक्तिसँग अग्रिम रकम र कतिपयसँग काम सम्पन्न भएपछि कमिसन लिने गरेको दाबी गरिएको छ।
यस विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेको स्रोतको दाबी छ। पराजुलीमाथि लागेको आरोप, रकमको कारोबार तथा राजनीतिक पहुँचबारे थप अनुसन्धानपछि मात्रै वास्तविकता स्पष्ट हुने देखिएको छ।
सिरहामा रकम फिर्ता गरी सहमतिका आधारमा रिहा गरिए पनि महोत्तरीमा पुनः पक्राउ परेपछि पराजुलीविरुद्ध विभिन्न जिल्लामा उठाइएको भनिएको रकम र विकास योजनासँग जोडिएको आर्थिक कारोबारबारे अनुसन्धान थप गहिरिने भएको छ।
यस विषयमा उपेन्द्र यादव, अमरेन्द्र यादव र सञ्जयकुमार यादवसँग सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा आएनन्।