काठमाडौँ — विश्वसम्पदा सूचीमा सूचीकृत पवित्र पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालित गंगा आरतीलाई लिएर नयाँ तथ्य र आरोपहरू बाहिर आएका छन्। धार्मिक अनुष्ठानका नाममा सञ्चालित उक्त आरती पशुपति क्षेत्र विकास कोषलाई कुनै पनि शुल्क नबुझाई व्यापारिक मोडलमा चलाइएको, संस्थाको खातामा करोडौँ रुपैयाँ जम्मा पारिएको र यसमा कोषका अधिकारीहरूको समेत मिलेमतो रहेको गम्भीर आरोप स्रोतहरूले लगाएका छन्।

रोयल्टी शून्य, रिजर्भ फन्डमा १० करोडभन्दा बढी

यसअघिको कुराकानीमा गंगा आरती समितिका प्रतिनिधि नारायण पौडेल स्वयंले पशुपति क्षेत्र विकास कोषलाई कुनै पनि प्रकारको भाडा, रोयल्टी वा शुल्क नबुझाएको स्वीकार गरेका थिए। सार्वजनिक एवं धार्मिक सम्पत्ति सित्तैमा प्रयोग गरेर सञ्चालन गरिएको यस आरतीका नाममा सर्वसाधारण र श्रद्धालुहरूबाट ठूलो रकम असुल गरिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार पशुपतिमा आरती सञ्चालन गरेकै भरमा संस्थाले करोडौँ रुपैयाँ सङ्कलन गरिसकेको छ भने हाल यस संस्थाको रिजर्भ फन्डमा १० करोड रुपैयाँभन्दा बढी रकम सञ्चित रहेको छ। नियमविपरीत र अपारदर्शी रूपमा भइरहेको यो आर्थिक गतिविधि कायम राख्न पशुपति क्षेत्र विकास कोषभित्रका केही भ्रष्ट अधिकारीहरूकै प्रत्यक्ष संरक्षण र मिलेमतो रहेको स्रोतको आरोप छ।

धार्मिक तथा वास्तुगत औचित्यमाथि प्रश्न

बागमती पारिबाट सञ्चालन भइरहेको गंगा आरतीको दिशा र स्थानलाई लिएर पनि गम्भीर प्रश्न उठेका छन्। पशुपतिनाथको मुख्य मन्दिर बागमती नदीको पश्चिमी किनारमा अवस्थित छ। धार्मिक र वास्तुगत मान्यता अनुसार आरती सधैँ भगवान्को सम्मुख (पूर्व फर्केर) गरिनुपर्छ। तर, हालको गंगा आरती पश्चिम फर्केर गरिने हुँदा यसलाई धार्मिक एवं शास्त्रीय मर्यादा अनुकूल मान्न सकिँदैन।

यसका साथै, आरती सञ्चालन भइरहेको स्थानको सिधा अगाडि आर्यघाट र भस्मेश्वर घाट पर्दछन्। एकातिर चितामा शव जलिरहेको शोककुल वातावरण र अर्कोतिर त्यसैलाई पृष्ठभूमि बनाएर बाजागाजासहित साङ्गीतिक आरती सञ्चालन गरिनु हिन्दू संस्कार र दाहसंस्कारको गम्भीर मर्यादा विपरीत हो। शवदाह (मृत्युको शोक) र आरती (उल्लासको पूजा) लाई एकै ठाउँमा मिसाएर व्यापारिक रूपमा प्रदर्शन गरिनुले आर्यघाटको गम्भीरता र पशुपतिको मूल आध्यात्मिक चेतनालाई नै तोडमोड गरेको जानकारहरू बताउँछन्।

सञ्चालक सदस्य नारायण पौडेलसँगको संवाद

गंगा आरतीको सञ्चालन, आम्दानी र शुल्क निर्धारणका विषयमा संस्थाका सञ्चालक सदस्य नारायण पौडेलसँग गरिएको प्रत्यक्ष कुराकानीको सम्पादित अंश:

प्रश्न: तपाईंहरूको संस्थाको नाम के हो? उत्तर: गंगा आरती समिति

प्रश्न: कसैको आफन्तको नाममा आरती गर्नुपर्यो भने कति रकम तिर्नुपर्छ?

उत्तर:

  • सहभागी: रु १,५००
  • १ पारिवारिक: रु ५,१००
  • २ पारिवारिक: रु १०,१००
  • ३ पारिवारिक: रु १५,१००

प्रश्न: पशुपतिको आर्यघाटमा आरती गरेर अहिलेसम्म संस्थामा कति रकम जम्मा गर्नुभएको छ?

उत्तर: अफिसमा गएर बुझ्नु।

प्रश्न: तपाईंको संस्थामा पद के हो?

उत्तर: सञ्चालक सदस्य

पौडेलको उल्टै प्रश्न: "बुढासुब्बाको क्यामेरा फोरेको प्रमाण खै?"

तस्बिर र अभिव्यक्ति प्रयोगप्रति आपत्ति

यसअघि प्रकाशित समाचारहरूमा आफ्नो तस्बिर र पुराना बयानहरू बिनाअनुमति प्रयोग गरिएको विषयमा सञ्चालक सदस्य नारायण पौडेलले कडा असन्तुष्टि जनाएका छन्। आफ्ना भनाइ र तस्बिरको अनधिकृत प्रयोगले आफ्नो र संस्थाको चरित्रहत्या एवं गालीबेइज्जती भएको उनको दाबी छ।

पवित्र भूमिमा मौलाउँदो व्यापारिक मोडल

पशुपतिको पवित्र भूमिमा सञ्चालित गंगा आरतीको कार्यशैली, तोकिएका महँगा शुल्कका दररेटहरू र सङ्कलित रकमको अपारदर्शिताले यो केवल धार्मिक सेवा मात्र नरही एउटा मुनाफाकेन्द्रित व्यापारिक मोडलका रूपमा विकसित भइसकेको देखिन्छ। निःशुल्क सरकारी जग्गा प्रयोग गरेर श्रद्धालुबाट भारी शुल्क उठाउने र नियामक निकाय कोषका अधिकारीहरू नै मौन बस्ने प्रवृत्तिले पशुपति परिसरमा आर्थिक अपारदर्शिता र बिचौलियाको जग झन् मजबुत बन्दै गएको पुष्टि गर्छ।