काठमाडौँ। प्रेस काउन्सिल नेपालको निर्देशनबमोजिम 'नेपालआज डटकम' मा सम्प्रेषित 'पाथीभरा माता' प्रकरणसम्बन्धी अनुसन्धानात्मक समाचार, सो विषयमा परेको उजुरी, संस्थाको खण्डन पत्र तथा प्रेस काउन्सिलको पत्र र नेपालआजको जवाफी पत्रसहित सबै पक्षको धारणा समेटेर यो समाचार सामग्री प्रकाशित गरिएको छ। दक्षिण कोरियामा रहेका नेपालीहरूसँग धार्मिक आस्थाका आधारमा लाखौँ रुपैयाँ तथा जिन्सी सामग्री हडपेको भन्ने पीडित पक्षको गम्भीर आरोप, प्राप्त प्राथमिक प्रमाण तथा मौखिक विवरणका आधारमा नेपालआज डटकमले "'पाथीभरा माता' को नाममा ठगी: कोरियाका नेपालीबाट लाखौँ हडपेको आरोप" शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। पीडितहरूले विभिन्न निकायमा धाउँदा पनि अनुसन्धान नभएको र न्याय नपाएको भन्दै सञ्चारमाध्यममार्फत आफ्ना सप्रमाण गुनासाहरू सार्वजनिक गरेका थिए।

उक्त समाचार प्रकाशित भएपछि तारकेश्वर-०१, काठमाडौँमा दर्ता रहेको 'माँ जगदम्बा आदिशक्ति पाथिभरा संस्था' का केन्द्रीय कोषाध्यक्ष सरोज गमालले प्रेस काउन्सिल नेपालमा उजुरी पत्र दर्ता गराउनुभएको थियो। संस्थाका तर्फबाट पेस गरिएको उजुरी पत्र तथा खण्डन पत्रमा अदालत वा आधिकारिक निकायबाट प्रमाणित नभई 'ठगी', 'लुट' र 'हडप' जस्ता शब्द प्रयोग गरी एकपक्षीय रूपमा संस्थाको चरित्र हत्या गरिएको दाबी गरिएको छ। बहुवर्षअघिको भनिएको घटनामा कुनै कानुनी भरपाई वा बैङ्क भौचर नरहेको उल्लेख गर्दै वास्तविक दाबी भए बिल-बिजकसहित उपस्थित हुन संस्थाले आग्रह गरेको छ भने संस्था कुनै पनि गैरकानुनी कार्यको समर्थन नगर्ने र निष्पक्ष अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको पत्रमा उल्लेख छ।

सो उजुरीका सम्बन्धमा प्रेस काउन्सिल नेपालबाट मिति २०८३/०४/२२ मा प्रेषित पत्र (पत्र सङ्ख्या ०८३/८४, चलानी सङ्ख्या ८७) प्राप्त भएपछि नेपालआज डटकमका सम्पादकले काउन्सिलसमक्ष मिति २०८३/०४/२५ मा लिखित जवाफ पेस गर्नुभयो। नेपालआजको जवाफी पत्रमा समाचार सार्वजनिक हित, नागरिकको सुसूचित हुने अधिकार र पूर्ण सद्भावका साथ सम्प्रेषण गरिएको स्पष्ट पारिएको छ। नेपालको संविधानको धारा १७(२)(क) र धारा १९ द्वारा प्रत्याभूत विचार, अभिव्यक्ति तथा सञ्चारको हकको परिधिभित्र रही, पीडित र सूचनादाताको सुरक्षाका लागि स्रोतको गोपनीयता कायम राख्दै समाचार तयार पारिएको पत्रमा उल्लेख छ। साथै समाचारमा संस्थाको नाम उल्लेख नगरिएको, मुख्य आरोपित व्यक्ति र संस्था पृथक् कानुनी व्यक्तित्व रहेको, र प्रयुक्त शब्दहरू नेपाली शब्दकोशका मानक शब्द भएकाले कसैलाई न्यायिक रूपमा दोषी किटान नगरी आरोपको विवरण मात्र प्रस्तुत गरिएको स्पष्ट पारिएको छ। काउन्सिलमार्फत खण्डन पत्र प्राप्त हुनासाथ पत्रकारिताको आचारसंहिता र 'खण्डनको अधिकार' लाई सम्मान गर्दै सो खण्डन पत्र प्रकाशन गरिएको छ।

यस समाचारका मुख्य आरोपित तथा संस्थाका अध्यक्ष अनिल बोम्जन भने समाचार प्रकाशन भएदेखि हालसम्म पनि आफ्नो प्रतिक्रिया वा स्पष्टीकरणका लागि सम्पर्कमा आउनुभएको छैन। नेपालआज डटकम व्यावसायिक, निष्पक्ष र सन्तुलित पत्रकारिताप्रति पूर्ण प्रतिबद्ध छ। यदि अध्यक्ष अनिल बोम्जन वा उहाँको पक्षबाट घटनाका सम्बन्धमा कुनै स्पष्टीकरण वा आधिकारिक धारणा उपलब्ध गराउन चाहेमा नेपालआज डटकम उहाँको भनाइलाई निष्पक्ष रूपमा प्राथमिकताका साथ प्रकाशन गर्न सदैव तयार रहनेछ। सत्यतथ्य, कानुनी प्रक्रिया र सार्वजनिक चासोको यस गम्भीर विषयमा नेपालआज डटकमले आगामी दिनहरूमा पनि निरन्तर नैतिक रूपमा अनुगमन र समाचार सम्प्रेषण (फलोअप) गरिरहनेछ।

उच्चतम पारदर्शिता कायम राख्ने उद्देश्यका साथ यस विषयसँग सम्बद्ध सम्पूर्ण आधिकारिक पत्रहरूका छायाप्रति जस्ताको तस्तै तल प्रस्तुत गरिएको छ:

संस्थाको उजुरी पत्र:


संस्थाको खण्डन पत्र:


प्रेस काउन्सिल नेपालको पत्र:


नेपालआजको जवाफी पत्र: