पोखराको एकान्त क्षेत्रमा आयोजित ट्रान्स पार्टीमाथि प्रहरीले छापा मार्दा ३८ जनालाई नियन्त्रणमा लिएको छ। फेवातालमाथि सेदीस्थित जंगल नजिकको घरमा रात्रीकालीन पार्टी चलिरहेका बेला प्रहरी पुगेको हो।
लागुऔषध प्रयोग र कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराईको नेतृत्वमा प्रहरी टोलीले उक्त घर घेरा हालेर कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रारम्भिक खानतलासीका क्रममा आठ जनाबाट विभिन्न प्रकारका लागुऔषध फेला परेको छ। तीमध्ये एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन्।
लागुऔषध फेला परेका व्यक्तिहरुविरुद्ध सम्बन्धित मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अन्य व्यक्तिहरुको हकमा भने विगतको पृष्ठभूमि जाँच गरिँदैछ र प्रमाणका आधारमा कारबाही हुने बताइएको छ।
घटनास्थलबाट एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’, गाँजा, म्याजिक मसरुम र एलएसडी लगायत नौ प्रकारका लागुऔषध बरामद गरिएको प्रहरीको भनाइ छ।
उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर पार्टी आयोजना गरेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।