देशभरका बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सप्तरीको राजविराजमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

तराई मधेश महिला फाउन्डेशन नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरूले विपद्मा ज्यान गुमाएका नागरिकको सम्झनामा दीप बालेर चिरशान्तिको कामना गरे।

संस्थाकी अध्यक्ष सुनिता साहको नेतृत्वमा आयोजित कार्यक्रममा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै संकटमा परेकाहरूको शीघ्र उद्धार र उपचारको माग गरिएको थियो।

सहभागीहरूले बाढी र पहिरोबाट विस्थापित भएका परिवारलाई सुरक्षित आवास, खाद्यान्न, खानेपानी तथा औषधिको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय, स्थानीय तह र सामाजिक संघसंस्थाबीच तीव्र समन्वय हुनुपर्नेमा जोड दिइएको छ।

भविष्यमा हुने मानवीय क्षति रोक्न पूर्वतयारी, जोखिमयुक्त क्षेत्रको पहिचान र विस्थापितको दीर्घकालीन पुनःस्थापनाका योजना अघि बढाउनुपर्ने सन्देश कार्यक्रमले दिएको छ।