सिरहा। मधेस प्रदेश सरकारका विकास योजना दिलाइदिने भन्दै अग्रिम रकम तथा कमिसन उठाएको आरोपमा रामेश्वर पराजुलीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

पराजुली जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा उनका छोरा अमरेन्द्र यादव निकट रहेको दाबी गरिँदै आएको व्यक्ति भएको स्रोतको भनाइ छ। उनी मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री संजय यादवको कार्यकालमा प्रदेश सरकारका विभिन्न योजना मिलाइदिने तथा योजना बिक्री गर्ने भनिएको समूहसँग जोडिएको आरोपसमेत लाग्दै आएको छ।

स्रोतका अनुसार पराजुलीले मधेस प्रदेश सरकारअन्तर्गतका विभिन्न योजना आफूले मिलाइदिन सक्ने भन्दै विभिन्न व्यक्तिसँग अग्रिम कमिसनका रूपमा रकम लिएको आरोप छ। तर, पछिल्लो समय मधेस प्रदेशमा सरकार परिवर्तन भएपछि आफूले प्रतिबद्धता जनाएका योजना उपलब्ध गराउन नसकेको भन्दै रकम फिर्ता माग्ने क्रम बढेको बताइएको छ।

रकम फिर्ता नदिएपछि केही व्यक्तिले प्रहरीमा उजुरी दिएको र सोही उजुरीका आधारमा प्रहरीले पराजुलीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ।

पराजुलीले कति व्यक्तिबाट कति रकम उठाएका थिए भन्ने विषय भने अनुसन्धानबाट खुल्न बाँकी छ। प्रहरीले घटनासँग सम्बन्धित बैंक कारोबार, रकम लेनदेन तथा अन्य व्यक्तिहरूको संलग्नताबारे समेत अनुसन्धान गरिरहेको बताइएको छ।

यस घटनाले मधेस प्रदेश सरकारका विकास योजनामा बिचौलिया र कमिसनको चलखेल हुने गरेको आरोपलाई पुनः बहसमा ल्याएको छ। यद्यपि, पराजुलीमाथि लगाइएका आरोप पुष्टि हुन बाँकी छन् र अनुसन्धान तथा न्यायिक प्रक्रियाको अन्तिम निष्कर्ष आउन बाँकी रहेको छ।

यस विषयमा उपेन्द्र यादव, अमरेन्द्र यादव, संजय यादव संग प्रतित्रिया लिन खोज्दा उनि सम्पर्कमा आउन चाहेन।