पर्सा प्रहरीले राजस्व चुहावट मुद्दामा ठूलो रकम जरिवाना र कैद सजाय ठहर भई फरार रहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले विशेष सूचनाको आधारमा खोजतलास गरी ती प्रतिवादीलाई पक्रेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ (साविक बेल्वा गाविसा) का ४२ वर्षीय प्रबिन्द्र साह गोढ रहेका छन्। उनलाई प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको थियो।

सम्मानित पर्सा जिल्ला अदालतले गोढलाई राजस्व चुहावटको कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। लामो समयदेखि फरार रहेका उनीमाथि अदालतको उक्त आदेश कार्यान्वयन हुन बाँकी थियो।

ADVERTISEMENT Nepal Aaja Register

पक्राउ परेका गोढलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाएको छ।

यस कारबाहीले कानुनी कठघराबाट उम्कन खोज्ने अपराधीहरूलाई राज्यले ढिलोचाँडो नियन्त्रणमा लिने सन्देश दिएको छ। आगामी दिनमा पनि प्रहरीले फरार अपराधीहरू लक्षित सर्च अपरेशनलाई निरन्तरता दिने देखिएको छ।