जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको जनकपुरधाम आगमनका अवसरमा स्वागत तथा आवश्यक समन्वयका लागि पार्टी पंक्तिलाई सूचना जारी गरेको छ। रास्वपा मधेश प्रदेश कार्यालयले मिति २०८३/०७/२७ गते जारी गरेको सूचना तथा जानकारी पत्रअनुसार सभापति लामिछाने धर्मपत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन जनकपुरधाम आउन लागेका हुन्।

राष्ट्रिय एकता, सद्भाव र सामाजिक सहिष्णुताको सन्देश प्रवाह गर्दै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउने कार्यक्रम तय भएको सूचनामा उल्लेख छ। मधेश प्रदेश महामन्त्री मनिष कुमार साहद्वारा हस्ताक्षरित पत्रमार्फत प्रदेशअन्तर्गतका सम्पूर्ण तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक समन्वय, सहकार्य र उपस्थितिका लागि अनुरोध गरिएको छ।

कार्तिक २८ गतेको कार्यक्रम

पार्टीले सार्वजनिक गरेको समयतालिकाअनुसार कार्तिक २८ गते शनिबार दिउँसो १२:१५ बजे सभापति लामिछानेको स्वागतका लागि जनकपुर विमानस्थलमा उपस्थित हुने कार्यक्रम छ। दिउँसो १:०० बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापति लामिछानेबाट सम्बोधन हुनेछ।

सोही दिन दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सोही स्थानको अर्को सभाहलमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया तय गरिएको छ। साँझ ५:०० बजे छठ पर्वको खरना पूजा तथा अन्य विधिवत् तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

कार्तिक २९ गतेको कार्यक्रम

कार्तिक २९ गते आइतबार बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका मठमन्दिरहरूको दर्शन तथा धार्मिक पोखरीहरूको अवलोकन गर्ने तालिका छ। जसअन्तर्गत जनकपुरधामको जानकी मन्दिर, मुखियापट्टीको लक्ष्मीनारायण मन्दिर, मठियानी लक्ष्मीनारायण मठ मन्दिर, महोत्तरीको जलेश्वरनाथ मन्दिर, मुजेलियाको रामजानकी मरवा र धनुषाधामको धनुषाधाम मन्दिरको दर्शन गरिनेछ।

आइतबार दिउँसो ३:०० बजे निर्धारित निवासस्थानबाट निस्केर जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुने कार्यक्रम रहेको छ।

कार्तिक ३० गतेको कार्यक्रम

कार्तिक ३० गते सोमबार बिहान ५:०० बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण तथा छठ पर्वको विधि अनुष्ठानमा सहभागी हुने तालिका छ। सोही दिन दिउँसो जनकपुर विमानस्थलबाट बिदाइ तथा प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ।