काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक प्रतिनिधि सभा सदस्य र अर्को राजनीतिक दलकी एक महिला प्रदेश सभा सदस्यबीच भएको धम्कीपूर्ण तथा आपत्तिजनक संवादको अडियो बाहिरिएको छ। सार्वजनिक भएको उक्त अडियोमा प्रयोग गरिएका शब्दमध्ये करिब ७५ प्रतिशत शब्द गम्भीर खालका अपशब्द र गालीगलौज रहेका छन्। अडियोबाट ती अपशब्दहरू हटाउने हो भने सिङ्गो संवादको अर्थ नै नबुझिने स्थिति छ।
सार्वजनिक अडियोमा पुरुष सांसदले महिला सांसदमाथि एक प्रभावशाली नेतासँग अनैतिक सम्बन्ध राखेको गम्भीर आरोप लगाएका छन्। टेलिफोन संवादका क्रममा पुरुष सांसदले लगातार अश्लील र अपमानजनक शब्द प्रयोग गरेपछि सहन नसकेर महिला सांसद रोएको समेत सुनिन्छ।
सार्वजनिक पदमा रहेका र समाजको नेतृत्व गर्ने जनप्रतिनिधिहरूबीच यस्तो अराजक, अशिष्ट र आपत्तिजनक संवाद बाहिरिएपछि जनस्तरबाट तीव्र आक्रोश व्यक्त हुन थालेको छ। यस घटनाले 'हामीले कस्ता नेताको मानक तयार गरिरहेका छौँ?' र 'हाम्रो राजनीतिक संस्कार तथा समाज कुन दिशातर्फ जाँदै छ?' भन्ने विषयमा गम्भीर प्रश्न खडा गरिदिएको छ।
यसैबीच, उक्त अडियोको आधिकारिकता पुष्टि गर्न र घटनाबारे उनीहरूको धारणा लिन सम्बन्धित दुवै जनप्रतिनिधिसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन।