लामो समयसम्म भोको बस्दा मानव शरीरमा केवल बोसो पग्लने मात्र नभई यो भन्दा धेरै गहिरो जैविक परिवर्तन हुने तथ्य फेला परेको छ। ‘नेचर मेटाबोलिजम’ जर्नलमा प्रकाशित एक प्रतिवेदन अनुसार, विस्तारित उपवासले मानिसको मस्तिष्क, पाचन प्रक्रिया र रोग प्रतिरोधात्मक क्षमतामा व्यापक प्रभाव पार्छ।
वैज्ञानिकहरूका अनुसार उपवास बस्ने बित्तिकै यसको मुख्य असर देखिँदैन। क्विन मेरी युनिभर्सिटी अफ लन्डन र नर्वेजियन स्कुल अफ स्पोर्ट्स साइन्सेजका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा बिना खाना तीन दिन बिताएपछि मात्र शरीर एक फरक जैविक अवस्थामा प्रवेश गर्ने देखिएको हो।
यो अनुसन्धान १२ जना स्वस्थ स्वयंसेवकहरूमा सात दिनसम्म केवल पानी मात्र पिएर गरिएको थियो। अत्याधुनिक प्रविधिको प्रयोग गरी रगतमा रहेका करिब ३,००० प्रोटिनहरूको नियमित जाँच गर्दा उपवासको तेस्रो दिनपछि मात्रै एक तिहाइभन्दा बढी प्रोटिनहरूमा ठूलो परिवर्तन आएको देखियो।
अध्ययनका क्रममा सहभागीहरूको तौल औषतमा ५.७ किलोग्राम घटेको थियो। उपवास पूरा भएर पुनः खानपान सुरु गर्दा मांसपेशीहरू साविककै अवस्थामा फर्किए पनि घटेको बोसो भने फेरि बढेको थिएन, जसले तौल नियन्त्रणमा उपवासको प्रभावकारिता पुष्टि गर्छ।
विज्ञहरूका अनुसार यो खोजले भविष्यमा उपवास नबसीकनै त्यसबाट प्राप्त हुने स्वास्थ्य लाभहरू कृत्रिम रूपमा दिलाउने औषधि वा उपचार पद्धति विकास गर्न मद्दत गर्नेछ। यसले विशेषगरी बिरामी मानिसहरूका लागि नयाँ उपचारको ढोका खोल्न सक्छ।
तर, अनुसन्धानले लामो समयसम्म भोको बस्नुका जोखिमहरूतर्फ पनि सचेत गराएको छ। बढी दिन उपवास बस्दा शरीरमा अस्थायी तनाव, रक्तश्राव सम्बन्धी समस्या र कमजोरी हुन सक्ने भएकाले मधुमेह वा मुटुको रोग भएका बिरामीहरूले चिकित्सकको सल्लाह बिना यस्तो प्रयास गर्न नहुने सुझाव दिइएको छ।
स्रोत: क्विन मेरी विश्वविद्यालय, लन्डन