काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोट खरीबोटमा गएराति एउटा दर्दनाक घटना घटेको छ। पारिवारिक विवाद उग्र बन्दा एक युवकले आफ्नै नाताभित्रका व्यक्तिको हातबाट ज्यान गुमाउनुपरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ज्यान गुमाउनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ५ का २५ वर्ष आसपासका जाकिर मन्सुरी रहेका छन्। उनको गएराति सवा नौ बजेको आसपासमा हत्या भएको हो।
उक्त हिंसात्मक कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले मृतकका आफ्नै भेनाजु नाता पर्ने ३८ वर्षीय समि अहमदलाई नियन्त्रणमा लिएको छ। महोत्तरी स्थायी घर भएका अहमद हाल थानकोटको खरीबोट क्षेत्रमा बस्दै आएका थिए।
प्रहरीको प्रारम्भिक विवरण अनुसार श्रीमान र श्रीमती वा पारिवारिक विषयलाई लिएर दुईपक्षबीच सामान्य भनाभन भएको थियो। सोही क्रममा रिसको आवेगमा आएर समिले जाकिरमाथि भान्छामा तरकारी काट्न प्रयोग हुने चक्कुले प्रहार गरेका थिए।
चक्कुको गम्भीर चोटका कारण छटपटाइरहेका जाकिरलाई तत्कालै उद्धार गरी सतुंगलमा रहेको मेड पोइन्ट अस्पताल पुर्याइएको थियो। तर, उनको स्वास्थ्य अवस्था निकै नाजुक भइसकेकाले चिकित्सकहरूले राति साढे नौ बजे उनलाई मृत घोषित गरिदिए।
घटना लगत्तै सक्रिय भएको प्रहरी टोलीले अभियुक्त समि अहमदलाई घटनास्थलबाटै नियन्त्रणमा लिन सफल भएको छ। हत्यामा प्रयोग गरिएको धारिलो चक्कु समेत प्रहरीले आफ्नो कब्जामा लिएको जानकारी दिएको छ।
सुरक्षाकर्मीहरूले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी लास जाँच मुचुल्का तयार पारेका छन्। त्यसलगत्तै शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाएको छ।
घरायसी असमझदारीले कसरि यति ठूलो रूप लियो भन्नेबारे वास्तविकता पत्ता लगाउन स्थानीय प्रहरी प्रशासनले घटनाको चौतर्फी अनुसन्धानलाई अगाडि बढाएको छ।