त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनबाट अवैध रूपमा बाह्य मुलुक पठाउन लागिएको ठुलो परिमाणको शंकास्पद गरगहनासहित दुई जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। मंगलबार साँझ साढे ५ बजेको समयमा नियमित जाँचका क्रममा उक्त अवैध धन्दाको पर्दाफास भएको हो।

विमानस्थल भन्सारका अनुसार मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ भएको एउटा कार्गो बाकसमा जुत्ता, पाइन्ट र सारी जस्ता कपडाहरू रहेको घोषणा गरिएको थियो। उक्त बाकसलाई एक्सरे मेसिनमा राखेर चेकजाँच गर्दा घोषणा गरिएका सामानहरू नदेखिएपछि सुरक्षा टोलीलाई शंका लागेको थियो। त्यसपछि बाकस खोलेर हेर्दा भित्र सुन तथा चाँदी जस्तो देखिने धातुका तयारी गहनाहरू फेला परेका हुन्।

उक्त सामानहरू काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउने तयारी भइरहेको पाइएको छ। बौद्धस्थित युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको प्रयोग गरी ती गहनाहरू बाहिर पठाउन लागिएको अनुसन्धानबाट खुलेको छ। गैरकानुनी रूपमा सामान निर्यात गर्न खोजेको आरोपमा एपेक्स लजिस्टिकका ४६ वर्षीय संचालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय संचालक राम प्रसाद दाहाललाई तत्कालै नियन्त्रणमा लिइएको छ।

ADVERTISEMENT Xtreme - Inside

बरामद गरिएका पँहेलो रंगका सुन जस्ता गहनाहरूमा २२ थान ठुलो नौगेडी, ४४ थान सानो नौगेडी र २४ थान २१ गेडी रहेका छन्। यसैगरी १६ थान चन्द्रमा, २० थान जन्तर, १८ थान सिंगुल ब्रोच, १८ थान डबल ब्रोच, ५ थान ठुलो शिरफुल र २ थान सानो शिरफुल समेत भेटिएको छ। सोही विधामा नेपालको झण्डा अंकित १६ थान ब्रोच, २३ थान खुकुरी आकारको ब्रोच, १८ थान मंगलसुत्र, ३९ थान मोतीमाला, १ थान रानीहार र १ थान त्रिशुल बरामद गरिएको छ।

यसैगरी सेतो रंगका चाँदी जस्ता देखिने धातुका गहनाहरूमा ४ थान गोलोवाला नेकलेस, १ थान चारपाटे नेकलेस, २६ थान काँडावाला चुरा, र्यार्लिङसहितको ३ सेट शिरबन्दी, ३ जोर झुम्का, ४ थान तिलहरी र १ थान घाँटीमा लगाउने सिक्री फेला परेका छन्।

प्रहरी र भन्सार प्रशासनले ती सबै धातुका गरगहनाहरू आफ्नो नियन्त्रणमा लिएका छन्। पक्राउ परेका दुवै संचालकहरूलाई थप कानुनी प्रक्रिया अगाडि बढाउन र आवश्यक कारबाहीका लागि गौचरस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।