अमेरिकी राष्ट्रपतिको सरकारी निवास व्हाइट हाउस बाहिर भएको घातक भिडन्तले सुरक्षा संयन्त्र र एक मानसिक रूपमा अस्वस्थ युवकबीचको पुरानो र गम्भीर द्वन्द्वलाई सतहमा ल्याइदिएको छ।
शनिबार सुरक्षा चेकपोइन्टमा खटिएका सुरक्षाकर्मीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेपछि सुरक्षा फौजको जवाफी कारबाहीमा २1 वर्षीय नासिरे बेस्ट मारिएका छन्।
सेक्रेट सर्भिसका एजेन्टहरूका अनुसार बेस्टले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षा चौकीमा आक्रमण गरेका थिए। सोही क्रममा भएको दोहोरो गोली हानाहानमा एक सर्वसाधारण नागरिक समेत घाइते भएका छन्। घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउस भित्रै भए पनि उनी पूर्ण रूपमा सुरक्षित रहेको अधिकारीहरूले जनाएका छन्।
अदालती कागजातहरूका अनुसार मारिएका बेस्ट पहिलेदेखि नै संघीय सुरक्षा निकायको कडा निगरानीमा रहेका व्यक्ति हुन्। उनले विगत एक वर्षदेखि लगातार व्हाइट हाउसको सुरक्षा घेरा तोड्ने प्रयास गर्दै आएका थिए।
विगतको गर्मी महिनामा उनी व्हाइट हाउस परिसर वरिपरि शङ्कास्पद रूपमा घुम्ने र विभिन्न प्रवेशद्वारबाट भित्र कसरी छिर्ने भनी सुरक्षाकर्मीहरूसँग सोधपुछ गर्ने गर्दथे।
यसै क्रममा सन् २०२५ को जुन २६ मा व्हाइट हाउसको सवारी साधन गुड्ने मुख्य मार्ग अवरोध गरेपछि उनलाई पक्राउ गरी जबरजस्ती मानसिक अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालबाट निस्किएपछि पनि उनको शङ्कास्पद गतिविधि रोकिएन। सन् २०२५ जुलाई १० मा उनले निषेधित क्षेत्रका चेतावनीका संकेतहरूलाई बेवास्ता गर्दै प्रतिबन्धित इलाकामा प्रवेश गरेका थिए।
त्यस बेला सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिँदा बेस्टले आफूलाई 'येशू ख्रीष्ट' दाबी गर्दै आफू पक्राउ पर्न चाहेको बयान दिएका थिए।
अधिकारीहरूका अनुसार उनको सामाजिक सञ्जालमा पनि यस्तै किसिमका भ्रमपूर्ण पोस्टहरू भेटिएका छन्, जसमा उनले आफूलाई ईश्वरको पुत्र दाबी गर्नुका साथै राष्ट्रपति ट्रम्प विरुद्ध हिंसात्मक धम्की समेत दिएका थिए।
यस गम्भीर सुरक्षा चुहावट र आक्रमणको पछाडि रहेका थप तथ्यहरू पत्ता लगाउन संघीय निकायहरूले अहिले विस्तृत अनुसन्धान गरिरहेका छन्।