काठमाडौँ — स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीनवर्षे सहकार्य सम्झौता गरेको छ। यस सहकार्यले क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।

आफ्नो तीन दशक लामो यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै कम्पनीले एनपीएलका माध्यमबाट आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने योजना बनाएको छ।

स्वास्थ्य परामर्श तथा जनचेतनामूलक गतिविधि

यसै सम्झौताअन्तर्गत एनपीएल खेलहरू सञ्चालन भइरहेको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिरहेको छ। यी कार्यक्रमहरूले खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सजग रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT Max Tiger INLINE

‘हेल्दी पार्टनरसिप’ र नगद पुरस्कार

खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा खेल भावनालाई प्रोत्साहन गर्न आर्य फार्माल्याबले ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत प्रत्येक खेलका दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। यसका साथै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ अवार्ड प्रदान गरिनेछ।

आर्य फार्माल्याबले ३० औँ वर्ष पूरा भएको अवसरमा सुरु भएको यस सहकार्यलाई संस्थाको यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।