काठमाडौँ: "राम्रालाई छान्ने, जान्नेलाई छान्ने, र नयाँलाई छान्ने" भन्दै जनताको अपार भोट पाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यतिबेला अचम्मको रौनक छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ जना सांसद मन्त्री बन्न योग्य छन्। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको उम्मेदवार बनिसकेका छन्। अब यी 'जान्ने र नयाँ' सांसदहरूलाई देश कसरी बनाउने भन्ने त सायद थाहा होला, तर एउटा कुरा भने पटक्कै थाहा रहेनछ— मन्त्री कसरी बन्ने?

​नयाँ पार्टीमा पुरानै रोग: शक्तिकेन्द्रको दौडधुप

मन्त्री बन्न के गर्नुपर्छ भन्ने भेउ नपाएपछि यतिबेला धेरैजसो सांसदहरू सभापति रवि लामिछाने र भावी प्रधानमन्त्री बालेनको ढोका ढक्ढक्याउन व्यस्त छन्। यसपालि रवि आफैँ भने मन्त्री नबन्ने पक्कापक्की जस्तै छ, तर मन्त्री बनाउने साँचो उनकै हातमा छ। उता बालेन र रविका आ-आफ्नै 'कोर टिम' र नजिकका मान्छेहरू छँदै छन्, जसलाई व्यवस्थापन गर्नुपर्ने चर्को दबाब छ।

​'नयाँ राजनीति' गर्ने कसम खाएका कतिपय सांसदहरू त मन्त्री पद सुरक्षित गर्न पर्दा पछाडिबाट व्यापारी, ठूला पत्रकार, विदेशी दूतावास र 'रवि-बालेन'का वरपर घुम्ने आसेपासेहरूको घरदैलोमा समेत धाउन थालेको गाइँगुइँ सुनिन्छ। आखिर रास्वपाको अभूतपूर्व लहरमा चुनाव त जितिहालियो, तर सांसदहरूको मनमा एउटै डर छ— "यसपालि मन्त्री नबने कहिले बन्ने? अर्को पालि चुनाव जितिने हो कि होइन, के हो के!"

​मन्त्रालय थोरै, आकांक्षी धेरै: 'रोटेसनमा मन्त्री बनाउने कि?'

मन्त्रालयको सङ्ख्या जम्मा २१ देखि २५ वटा हुने, तर आकांक्षी भने १८२ जना! एकसेएक दिग्गज र पढेलेखेका सांसदहरू सबैलाई मन्त्री बन्नु नै छ। डा. तोसिमा कार्कीलाई स्वास्थ्य चाहिएको छ, स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालय नभई भएको छैन, अरूलाई पनि आ-आफ्नै 'जान्ने' मन्त्रालय चाहिएको छ। यो धर्मसङ्कट र मन्त्री बन्ने होडबाजी देखेर अहिले चोक-चियापसल र सामाजिक सञ्जालमा जनताले रमाइलो व्यङ्ग्य गर्न थालेका छन्।

​धेरैले सामाजिक सञ्जालमार्फत रास्वपाका वरिष्ठ नेतालाई सोध्न थालेका छन्:

​"अनि मन्त्रालय थोरै र सांसद धेरै भएपछि झ्याउ भएन त? ५ वर्षको समयमा सबै १८२ जना सांसद ज्यूहरूलाई ६-६ महिनाको रोटेसनमा मन्त्री बनाउँदा कसो होला बालेन सर? कम्तीमा सबैको पालो त आउँथ्यो कि!"

​अब हेर्न बाँकी छ— 'जान्नेलाई छान्ने' पार्टीले मन्त्री छान्दा चाहिँ पुरानै शैली अपनाउँछ कि साँच्चै केही नयाँ चमत्कार गर्छ!