कुनै बेला कुमार बेनले मलाई भन्नुभएको एउटा प्रसङ्ग सम्झिन्छु— "बालेनको बारेमा कन्टेन्ट बनाएर धेरै नयाँ मिडिया, युट्युबर र सोसल मिडिया इन्फ्लुएन्सरहरू बाँचिरहेका छन्, वित्तीय रूपमा कन्टेन्ट मनिटाइज गरेर।" आज मुलुकका प्रधानमन्त्री अमेरिका उड्दाका दृश्यहरू नियाल्दा लाग्छ, उहाँको यो भ्रमण कुनै गम्भीर कूटनीतिक यात्राभन्दा बढी 'कन्टेन्ट क्रिएसन' को महाउत्सव जस्तो देखिन पुग्यो।
हामीले क्यामेराको लेन्सबाट सबै कुरा स्पष्ट देख्यौँ— अन्तर्राष्ट्रिय टर्मिनलबाट भित्र छिरेको दृश्य, प्रधानमन्त्रीको गाडी सरासर रनवेमा प्लेनसम्मै पुगेको तामझाम, कतार एयरवेसमा चढ्दै गर्दाको सट, अनि दोहा एयरपोर्टमा देखिएको भव्य स्वागत र ट्रान्सफरको दृश्य। तर, यति विघ्न क्यामेराको पर्दामा छाएका दृश्यपछाडि प्रश्नहरू उस्तै छन्। स्वदेशी स्वाभिमानको कुरा गर्ने प्रधानमन्त्रीले कम्तीमा दोहासम्मको यात्राका लागि किन नेपाल एयरलाइन्स रोज्नुभएन? कतार एयरवेजको त्यो हवाइजहाजमा बिजनेस क्लासको विलासिता चुम्नुभयो कि इकोनोमीको सादगी, त्यो पारदर्शी हुनुपर्थ्यो। प्रधानमन्त्री र उहाँको सल्लाहकार टोली आफैँ कन्टेन्ट क्रिएटर बनेर भिडियो रिलिजमा व्यस्त हुनु लोकतन्त्रका लागि शोभा दिने विषय होइन। वीरता, बलिदान र समर्पणको भव्य एवं गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनाको मर्यादालाई पन्छाउँदै 'सलामी नै नलिने' नाटक गरेर देशको औपचारिक परम्परा बिर्सिनु उहाँको पुरानै स्टन्ट शैलीको निरन्तरता थियो। कि नेपाली सेना आफैँले प्रधानमन्त्रीलाई सलामी दिन अस्वीकार गरेको हो? दुर्गा प्रसाईंले त सेक्युरिटी गार्डबाट भए पनि सलामी लिएर आत्मरतिमा रमाए, प्रधानमन्त्रीले भने कम्तीमा देश र सेनाको गौरवको ख्याल राखिदिनुपर्ने हो।
इमानदार भएर भन्नुपर्दा, राष्ट्रसंघको रोस्टममा उभिएर भाषण गर्दा मलाई लागेको थियो— उहाँले आफ्नै परम्परागत फेसन र शैलीमा कुनै वेस्टर्न र्यापका बोलहरू गुनगुनाउनुहुनेछ। तर, मेरो अपेक्षाविपरीत प्रधानमन्त्रीले भाषण भने असाधारण र विषयवस्तुमा आधारित नै दिनुभयो। सम्बोधनका क्रममा उहाँले भोटेकोशी र त्रिशूलीको बाढीपहिरोको विपत्तिलाई उजागर गर्दै हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर, क्षतिपूर्ति, जलवायु वित्त अर्थात् क्लाइमेट फाइनान्समा सहज पहुँच र प्रविधि हस्तान्तरणका मुद्दालाई जोडदार रूपमा उठाउनुभयो। साथै नेपालको नयाँ राजनीतिक परिदृश्य र युवा अर्थात् जन-जी नेतृत्वको लोकतान्त्रिक उभारलाई विश्वमञ्चमा प्रस्तुत गर्नु उहाँको भाषणको बिर्सनै नसकिने सबल पक्ष थियो।
तर, भाषण जतिसुकै राम्रो भए पनि हलमा सुनिएको ताली र हुटिङको दृश्य भने निकै अचम्मको थियो। राष्ट्रसंघको सभाहलमा भएको त्यो हुटिङ वास्तवमै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको थियो वा बालेनकै वरपरका मान्छेहरूको? नेपालमा कम्युनिस्टहरूले आफ्नो नेताको नक्कली लोकप्रियता देखाउन भीडमा आफ्नै कार्यकर्ता छिराएर ताली बजाउने र हुटिङ गराउने 'प्रोपागान्डा' खूब गर्छन्। के बालेनका सम्मानित सल्लाहकारहरूले पनि कम्युनिस्टहरूकै यो सस्तो प्रोपागान्डा शैली कपी गरेका हुन्?
सम्बोधनका राम्रा पक्षलाई छाडेर उहाँको बाह्य आवरण र व्यवहारतिर हेर्दा भने निराशा नै हात लाग्छ। दोहाको चम्किलो एयरपोर्टमा उहाँको आँखामा कालो चस्मा थिएन, लाग्यो उहाँको आँखाको रोग सायद पूर्ण रूपमा निको भएछ। तर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग हात मिलाउनु र फोटो खिच्नुभन्दा ठीक अगाडि हतार-हतार रे-ब्यान चस्मा निकालेर लगाउने उहाँको व्यवहार साह्रै केटाकेटीपन देखिन्थ्यो। कतै प्रधानमन्त्रीलाई रे-ब्यान कम्पनीले नै स्पान्सर वा पे त गरेको छैन? फेरि युएनको रोस्टममै उभिएर सम्बोधन गर्दा पनि उही कालो चस्मा नलगाई नहुने अवस्था देख्दा उहाँको आँखा अझै निको नभएको भान हुन्छ; उहाँको आँखाको रोग छिट्टै निको होस् भन्ने कामना छ। अर्कातर्फ, उहाँले रोजेको त्यो कालो पोसाक अर्थात् ब्ल्याक आउटफिटले 'अशुभ' को सङ्केत गर्थ्यो, जुन देशको प्रधानमन्त्रीको औपचारिक पोसाकका रूपमा मलाई पटक्कै मन परेन।
प्रधानमन्त्रीज्यू, युएनको मञ्चमा विषयवस्तु राम्रा उठाउनुभयो, त्यसका लागि धन्यवाद। तर राष्ट्रको प्रतिनिधित्व गर्दा कम्युनिस्ट शैलीको हुटिङ प्रोपागान्डा, अशुभ कालो पोसाक र अन्तर्राष्ट्रिय कूटनीतिमा रे-ब्यान चस्माको केटाकेटीपन त्याग्नैपर्छ।
भगवान् पशुपतिनाथले सबैको कल्याण गरून्।