कोशी प्रदेशको राजधानी विराटनगरमा किशोरकिशोरी लक्षित २४ घण्टे भिडिओ गेम डिजाइन तथा कोडिङ प्रतियोगिता आयोजना हुने भएको छ। प्रविधिको उपभोग मात्र नभई सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन हुन लागेको हो।

अरनिको ह्याकक्लबद्वारा आयोजित ‘क्याम्पफायर विराटनगर’ २८ फेब्रुअरीदेखि १ मार्चसम्म उद्योग सङ्गठन मोरङको भवनमा सञ्चालन हुनेछ। ओभरनाइट ह्याकाथन ढाँचामा आयोजना हुने यस कार्यक्रममा सहभागीहरूले शून्यबाट खेल्न मिल्ने भिडिओ गेम तयार पार्नुपर्नेछ।

प्रतियोगितामा १३ देखि १८ वर्ष उमेर समूहका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी हुन पाउनेछन्। कार्यक्रम संयोजक अर्जन चौधरीका अनुसार पूर्व ज्ञान अनिवार्य छैन। कार्यक्रममा आधारभूत प्रोग्रामिङ र गेम डिजाइन सम्बन्धी वर्कशप सञ्चालन गरिनेछ।

क्याम्पफायर विराटनगर विश्वव्यापी ‘ह्याक क्लब’ अभियानअन्तर्गत सञ्चालन हुने कार्यक्रम हो, जुन विश्वका २०० भन्दा बढी सहरमा एकैसाथ आयोजना हुँदैछ। सह–संयोजक प्रयाश अधिकारीका अनुसार यसले स्थानीय युवालाई अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रसँग जोड्ने अवसर प्रदान गर्नेछ।

कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ। सहभागीलाई कार्यस्थल, खाना, खाजा, विशेष टी–सर्ट, स्टिकर र आफ्नै पोर्टफोलियोका लागि निःशुल्क .xyz डोमेन उपलब्ध गराइनेछ। विजेताको घोषणा कार्यक्रमकै समयमा गरिनेछ।

इच्छुक विद्यार्थीहरूले campfire.hackclub.com/biratnagar मा गई दर्ता गर्न सक्नेछन्। विराटनगरमा पहिलोपटक यस स्तरको गेम ज्याम आयोजना हुन लागेकाले यस क्षेत्रका प्रविधि प्रेमी युवामा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।