काठमाडौँ — सेलिब्रेटी सेफ सन्तोष साह बैंकिङ कसुर र ठगी आरोपमा पक्राउ परेसँगै काठमाडौँको गैरीधारास्थित उनको चर्चित रेस्टुरेन्ट 'मिथिला थाली' भित्रको चरम व्यावसायिक लापरवाही र ठूलो आर्थिक संकट बाहिर आएको छ। ग्लामरस ब्रान्डिङको भित्री पाटो केलाउँदा रेस्टुरेन्टले कर छली, घरभाडा विवाद, साझेदारको दुरुपयोग र बजारको लाखौँ रुपैयाँ उधारो नतिरेको तथ्य फेला परेको छ।

स्रोतका अनुसार, गैरीधारास्थित २४ आना जग्गामा फैलिएको यो रेस्टुरेन्ट सञ्चालनमा बाहिरबाट हेर्दा आकर्षक देखिए पनि आन्तरिक रूपमा व्यावसायिक अनुशासन पूर्ण रूपमा भत्किएको छ।

वडा कार्यालयमा कर छली र जग्गा खाली गराउने तयारी

विष्णुराज कोइरालाको नाममा रहेको उक्त २४ आना जग्गामा 'मिथिला थाली' सञ्चालन हुँदै आएको छ। तर, रेस्टुरेन्टले विगत डेढ वर्षदेखि स्थानीय वडा कार्यालयमा बुझाउनुपर्ने व्यवसाय कर र घरबहाल कर समेत चुक्ता नगरेको खुलासा भएको छ।

कर नतिरेको र सम्झौता पालना नगरेको भन्दै जग्गाधनीका तर्फबाट आगामी कात्तिक २१ गतेभित्र व्यवसाय अन्यत्र सारी घरजग्गा पूर्ण रूपमा खाली गरिदिन स्थानीय वडा कार्यालयमा औपचारिक निवेदन दर्ता भइसकेको छ। रेस्टुरेन्टले पछिल्लो ५ महिनादेखिको घरभाडा समेत जग्गाधनीलाई बुझाएको छैन।

साझेदारको चेक बाउन्स गराएर भाडा असुली

यसअघि रेस्टुरेन्टले बुझाउनुपर्ने २४ लाख रुपैयाँ भाडा असुल गर्न जग्गाधनीले ठूलै पापड बेल्नुपरेको थियो। स्रोतका अनुसार, सन्तोष साह र उनको समूहले अर्का एक साझेदार राजेन्द्र महर्जनलाई व्यापारमा भित्र्याएर उनको नामको चेक बाउन्स गराएपछि मात्र उक्त २४ लाख रुपैयाँ भाडा असुल भएको थियो।

बजारको लाखौँ उधारो: पैसा उठाउने साहुहरूको लाइन

गैरीधारा आउटलेटमा अहिले सामान आपूर्ति गर्ने भेन्डर र ऋण लगानी गर्नेहरूको दैनिक लाइन लाग्ने गरेको छ। रेस्टुरेन्टले बजारका धेरै पार्टीहरूलाई भुक्तानी दिन बाँकी राखेकाले आपूर्तिकर्ताहरू गम्भीर मर्कामा परेका छन्।

बाँकी बक्यौताको विवरण:

विवरण (पार्टी/व्यक्ति) बाँकी रकम/अवधि कैफियत
नरेश कार्की रू. ४०,००,००० लामो समयदेखि भुक्तानी रोकिएको
मासु पसल (भेन्डर) रू. ३,५०,००० दैनिक उपभोग्य वस्तुको उधारो
घरभाडा ५ महिनाको बाँकी जग्गाधनीलाई बुझाउन बाँकी
सरकारी कर डेढ वर्षको बाँकी व्यवसाय र घरबहाल कर छली

'पावर' को धाक र बेलायती राहदानीको सुरक्षा कवच

आर्थिक रूपमा चौतर्फी घेरिँदा र कानुनी प्रश्न उठ्दा समेत सन्तोष साह र उनका बिजनेस पार्टनर दिलीप साहले राजनीतिक एवं प्रशासनिक शक्तिको धाक लगाएर साहुहरूलाई तर्साउने गरेको स्रोतको दाबी छ।

"म प्रधानमन्त्री बालेन्द्र शाहको 'फुड एडभाइजर' हुँ, मलाई कसैले केही गर्न सक्दैन," भन्दै सन्तोष साहले सम्बन्धित पक्षलाई धम्क्याउने गरेको गुनासो आएको छ।

त्यति मात्र नभई, साझेदार दिलीप साहले पनि आफ्नो सिधा सम्पर्क प्रधानमन्त्रीसँग रहेको र आफूहरू 'प्रधानमन्त्रीको फुड एडभाइजर' भएको भन्दै रकम माग्न आउने साहुहरूलाई डर र त्रास देखाउने गरेको पाइएको छ। उनीहरूको रुखो बोलीवचन र व्यवहारका कारण साहुहरू रकम माग्न समेत डराउनुपर्ने अवस्था सिर्जना भएको थियो।

यसैबीच, पक्राउ परेका सेलिब्रेटी सेफ सन्तोष साह वास्तवमा बेलायती नागरिक हुन् र उनीसँग बेलायतको राहदानी (UK Passport) रहेको पुष्टि भएको छ। विदेशी नागरिकताको आडमा नेपालको कानुनी र व्यावसायिक मर्यादालाई मिच्दै अनुशासित रूपमा व्यवसाय सञ्चालन नगरेकै कारण अन्ततः उनी कानुनी फन्दामा परेको व्यावसायिक क्षेत्रका जानकारहरू बताउँछन्।