बैंकिङ कसुरसम्बन्धी कानुनी झमेलामा परेका प्रख्यात सेफ सन्तोष साह धरौटी रकम बुझाएर प्रहरी हिरासतबाट मुक्त भएका छन्। मुद्दामा दाबी गरिएको कुल बिगो बराबरको धरौटी बुझाएपछि उनलाई रिहा गरिएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहलाई हाजिर जमानीमा छोडिएको हो। अनुसन्धान नसकिएकाले प्रहरीले बोलाएको समयमा उनी अनिवार्य उपस्थित हुनुपर्ने सर्त तोकिएको छ।
यो विवाद बालुवाटार नजिकैको गैरीधारामा अवस्थित एक रेस्टुरेन्ट खरिद प्रक्रियासँग जोडिएको छ। रेस्टुरेन्ट खरिद गर्दा सम्झौताअनुसारको रकम पूर्ण रूपमा भुक्तानी नगरेको भन्दै शकुन्तला अधिकारी (थापा) ले साहविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता गराएकी थिइन्।
सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले साहलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रमानन्द चोकबाट नियन्त्रणमा लिएको थियो।
उक्त कारबाहीका क्रममा साहका व्यावसायिक साझेदार सिराहा कर्जन्हा नगरपालिका–९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए। धरौटी प्रक्रिया पूरा भएसँगै साह र सुडी दुवै जना हिरासतमुक्त भए पनि उनीहरूमाथिको कानुनी अनुसन्धान भने निरन्तर जारी रहने प्रहरीले जनाएको छ।