विशेष संवाददाता, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को उच्च लोकप्रियता र राष्ट्रिय राजनीतिको बलियो समीकरणसहित गठन भएको शक्तिशाली बालेन सरकारका प्रभावशाली परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणका क्रममा अपमानित भएका छन्।

हालै चीन भ्रमणमा रहेका मन्त्री खनाल र चिनियाँ पक्षबीच भएको द्विपक्षीय वार्ताको एउटा तस्बिर सार्वजनिक भएपछि यसले नेपालको कूटनीतिक वृत्त र सामाजिक सञ्जालमा ठुलो तरंग पैदा गरेको छ। उच्चस्तरीय भनिएको उक्त बैठक स्थलमा चिनियाँ झन्डा त सम्मानका साथ राखिएको छ, तर नेपालको राष्ट्रिय झन्डा भने रहस्यमय ढंगले गायब पारिएको छ।

कुनै पनि दुई सार्वभौम मुलुकहरूबीच हुने औपचारिक द्विपक्षीय वार्ता वा उच्चस्तरीय भेटघाटमा दुवै देशको राष्ट्रिय झन्डा अनिवार्य रूपमा राखिनु स्थापित अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादा (प्रोटोकल) हो। यसले दुई देशबीचको समान हैसियत र आपसी सम्मानलाई दर्साउँछ। तर, नेपालका परराष्ट्र मन्त्रीलाई नै अगाडि राखेर चिनियाँ भूमिमा गरिएको औपचारिक वार्तामा नेपालको झन्डा नराख्नुलाई चीनले नेपाल र वर्तमान शक्तिशाली सरकारलाई 'हेपेको' र कूटनीतिक अपमान गरेको रूपमा गम्भीरतापूर्वक हेरिएको छ।

सामाजिक सञ्जालमा राष्ट्रवादको 'डबल स्ट्यान्डर्ड' माथि व्यंग्य

यो घटनाको तस्बिर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा चीनको यो कदमको तीव्र विरोध भइरहेको छ। यसका साथै, नेपालका कथित 'राष्ट्रवादी' राजनीतिक दल र बुद्धिजीवीहरूको मौनतामाथि पनि नागरिक स्तरबाट कडा प्रश्नहरू उठ्न थालेका छन्।

छिमेकी मुलुक भारतसँग सानातिना प्राविधिक विषयमा असमझदारी हुँदा पनि सडक आन्दोलन र सामाजिक सञ्जालमा चर्को राष्ट्रवादको नारा लगाउनेहरू, चीनले सिधै देशकै परराष्ट्र मन्त्रीको उपस्थितिमा राष्ट्रिय झन्डा गायब पार्दा समेत मौन बस्नुलाई धेरैले अचम्मका रूपमा लिएका छन्।

यसै सन्दर्भलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता देवेश झा (Devesh Jha) ले फेसबुकमा कडा व्यंग्य गर्दै लेखेका छन्:

"यसरी नेपालको झण्डा समेत नराखी दुई पक्षीय वार्ता दिल्लीबाट गरिएको भए 'धोती....खाते.....दलाल...' जस्ता विशेषणबाट विभूषित गरिने थियो... होइन र....😀 कता हराए ज्ञवाली, पाल्पाली, दीक्षित.... घनघोर राष्ट्रवादी हरु...."

झाको यो कडा अभिव्यक्तिले नेपाली राजनीति र नागरिक समाजमा छिमेकी देशहरूलाई हेर्ने दृष्टिकोणमा विद्यमान 'डबल स्ट्यान्डर्ड' (दोहोरो मापदण्ड) लाई पूर्ण रूपमा छताछुल्ल पारेको विश्लेषण गरिएको छ। राष्ट्रिय स्वाभिमानको विषय कुनै एक भूगोल वा छिमेकीतर्फ मात्र लक्षित नभई सबै देशसँग समान हुनुपर्नेमा, चीनको कूटनीतिक त्रुटि वा जानाजानी गरिएको यस व्यवहारमा स्थापित राष्ट्रवादी अनुहारहरू रहस्यमय ढंगले मौन बस्नुले उनीहरूको राष्ट्रवादको जगमाथि नै संशय पैदा गरेको छ।

कूटनीतिक कमजोरी कि नियत ?

बालेन सरकारको परराष्ट्र मन्त्रालय सम्हालेका शिशिर खनाललाई देशकै एक बौद्धिक, अध्ययनशील र प्रभावशाली नेताका रूपमा हेरिन्छ। तर, आफ्नै अगाडि देशको राष्ट्रिय झन्डा अनुपस्थित रहँदा र कूटनीतिक मर्यादाको ठाडो उल्लंघन हुँदा पनि सोही बैठकमा निरन्तर सहभागी हुनु र चिनियाँ पक्षसँग तत्काल प्रतिवाद वा असहमति व्यक्त नगर्नुलाई मन्त्री खनालको व्यक्तिगत तथा भ्रमण टोलीको ठुलो कूटनीतिक कमजोरीका रूपमा समेत कतिपय विश्लेषकहरूले टिप्पणी गरेका छन्।

"शक्तिशाली सरकार" को बलियो जग र राष्ट्रिय स्वाभिमानको नारा दिने बालेन नेतृत्वको टोलीले यस गम्भीर कूटनीतिक अपमानबारे चीन सरकारसँग औपचारिक माध्यमबाट स्पष्टीकरण माग्छ वा 'कागती निचोरिएको' राष्ट्रवाद जस्तै मौनता साध्छ, त्यो भने आगामी दिनमा कूटनीतिक कदमहरूले नै प्रष्ट पार्नेछ।