यशोदा फुड्सले काठमाडौं उपत्यकाभित्र आफ्नो खुद्रा सञ्जाल विस्तार गर्दै करेन्टमार्टको दोस्रो आउटलेट कपनमा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा खुलेपछि कपन र आसपासका उपभोक्ताले कम्पनीका उत्पादन अब अझ सहज रूपमा आफ्नै क्षेत्रबाट खरिद गर्न सक्ने भएका छन्।
कम्पनीले फागुन २६, २०८२ देखि रिलायन्स कलेज नजिक कपनस्थित शाखाको औपचारिक सुरुवात गरेको हो। यसअघि बानेश्वरको कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटप्रति उपभोक्ताबाट राम्रो प्रतिक्रिया आएपछि दोस्रो शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ।
नयाँ शाखाको उद्घाटनको अवसरमा करेन्टमार्टमा उपलब्ध सम्पूर्ण उत्पादनमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ। कम्पनीका अनुसार यो छुट उद्घाटन अफरका रूपमा लागू गरिएको हो।
कपनस्थित शाखाको उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। कार्यक्रममा कम्पनीका प्रतिनिधि, ग्राहक र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नयाँ करेन्टमार्टमा यशोदा फुड्सद्वारा उत्पादन गरिएका विविध सामग्री एउटै स्थानमा उपलब्ध हुनेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय चाउचाउ, विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स र पोटाटो क्र्याकर्स राखिएका छन्।
त्यसैगरी चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया पनि उपलब्ध छ। मसलाजन्य सामग्रीअन्तर्गत जिरा पाउडर, धनिया पाउडर र रातो खुर्सानी पाउडरसमेत यहाँ पाइने कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाहले बानेश्वर शाखाप्रति उपभोक्ताले देखाएको माया र विश्वासले काठमाडौंका अन्य स्थानमा पनि सेवा विस्तार गर्न प्रेरित गरेको बताए। उनले कपन क्षेत्रका ग्राहकले अब आफ्नै टोलबाट ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने उल्लेख गर्दै १० प्रतिशत छुटको अवसरको उपयोग गर्न आग्रह गरे।
सन् २०१७ मा स्थापना भएको यशोदा फुड्स प्रा.लि. नेपालका खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले करेन्ट ब्रान्डअन्तर्गत पिरो र स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको छ, जुन विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रहेको उल्लेख गरिएको छ।
कम्पनीले आफ्ना उत्पादन नेपालभरि वितरण गर्नुका साथै २२ भन्दा बढी देशमा निर्यात गर्दै आएको जनाएको छ। कपनमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएसँगै कम्पनीले उपभोक्तासँग प्रत्यक्ष पहुँच विस्तार गर्ने रणनीतिलाई थप अगाडि बढाएको देखिन्छ।