डिजिटल माध्यममा प्रस्तुत गरिने सामग्रीको संवेदनशीलतालाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोले कडा कदम चालेको छ। पोडकास्ट कार्यक्रममा अत्यधिक अश्लील तथा अभद्र शब्दहरू प्रयोग गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले तीन जना स्थापित कमेडियन तथा पडकास्टरहरूलाई कार्यालयमा बोलाएर सचेत गराएको हो।

प्रहरीको फन्दामा पर्नेहरूमा सजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतम रहेका छन्। ब्युरोले उनीहरूलाई तीन दिनअघि नै नियन्त्रणमा लिएर केरकार गरेको थियो। आगामी दिनमा डिजिटल प्लेटफर्महरूमा यस्ता अमर्यादित शब्दहरू प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएपछि मात्र उनीहरूलाई छाडिएको छ।

साइबर ब्युरोका सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार यो विवाद सजन श्रेष्ठले सञ्चालन गर्दै आएको ‘द लास्ट क्वेश्चन’ नामक चर्चित पोडकास्टबाट सुरु भएको हो। उक्त कार्यक्रमको एउटा शृङ्खलामा अतिथि कलाकारका रूपमा उपस्थित भएका उत्सव सापकोटा र विशाल गौतमले सामाजिक मूल्य मान्यता विपरितका अश्लील शब्दहरू बोलेका थिए, जसप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको थियो।

सूचना अधिकारी गिरीले केही दिनअघि नै उनीहरूलाई ब्युरोमा उपस्थित गराइएको र कानुनी रूपमा सम्झाइबुझाइ गरेर छाडिएको पुष्टि गरेका छन्। उनीहरूले अबदेखि आफ्ना प्रस्तुतिहरूमा शिष्टता कायम राख्नुपर्नेछ।

पक्राउ परेर कागज गरिएका श्रेष्ठ, गौतम र सापकोटा नेपाली युवापुस्ता माझ निकै लोकप्रिय सञ्चारकर्मी हुन्, जसले विभिन्न कमेडी शो र पोडकास्टहरू सञ्चालन गर्दै आएका छन्। यस घटनाले आगामी दिनमा अनलाइन सामग्री उत्पादन गर्ने डिजिटल सिर्जनाकर्ताहरूलाई थप जिम्मेवार र मर्यादित बन्न मार्गनिर्देश गर्ने देखिन्छ।