आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार सम्बन्धी सम्पूर्ण गतिविधि बन्द हुने निर्देशन जारी गरिएको छ।

निर्वाचन प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा, जुलुस तथा गोष्ठी आयोजना गर्न नपाइने जनाइएको छ। बाजा बजाउने, गाउने, नाच्ने, सार्वजनिक भोज भतेर गर्ने वा अनुचित प्रभाव पार्ने गतिविधि गर्न नपाइनेछ। कुनै पनि उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचार गर्न अनुमति रहने छैन।

सामाजिक सञ्जाल, अनलाइन, छापा तथा अन्य कुनै माध्यमबाट निर्वाचन वा मतदानको दिन प्रचार सामग्री राख्न, हटाउन वा सेयर गर्न नपाइनेछ। प्रचार बन्द भएपछि सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन वा अन्य माध्यममार्फत मत माग्न समेत रोक लगाइएको छ।

मतदान प्रारम्भ हुनुअघि वा मतदान भइरहेका बेला मतदातालाई अवरोध पुर्‍याउन नपाइनेछ। मतदान अधिकृत वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य निषेध गरिएको छ।

राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जाल विज्ञापन तथा प्रचार सामग्री हटाउनुपर्नेछ। मतदान हुनुभन्दा ४८ घण्टाअघि सबै प्रचार सामग्री हटाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

मतदान केन्द्र रहेको स्थानमा निर्वाचन कार्यमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको छ। मतदान केन्द्र वरपर ३०० मिटर क्षेत्रभित्र प्रचारप्रसार गर्न पाइने छैन। यी व्यवस्था मतदानलाई शान्तिपूर्ण र व्यवस्थित बनाउने उद्देश्यले लागू गरिएको जनाइएको छ।