नेपाली कांग्रेस राष्ट्रिय चुनावमा होमिने तयारीमा थियो। तत्कालीन सभापति शेरबहादुर देउवाले पनि पार्टी चुनावमा सहभागी हुने स्पष्ट पारिसक्नुभएको थियो। आम जनतामा स्थापित दलहरूप्रति प्रचण्ड आक्रोश थियो, जसले गर्दा हाम्रो सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुनुपर्ने थियो। धेरै शुभचिन्तकहरूले "अहिले चुनावमा भाग लिनुपर्छ, महाधिवेशनको लफडामा फस्नु हुँदैन" भनी सचेत गराएका थिए। तर, गगन थापाको समूहलाई चुनाव अगाडि नै विशेष महाधिवेशन चाहियो। संस्थापन पक्षले चुनावपछि महाधिवेशनको मिति तोक्दा तोक्दै पनि गगन दाइको हठ अगाडि कसैको केही लागेन।
विशेष महाधिवेशन कि 'तानाशाही' अभ्यास?
सन् २०२६ को जनवरी पहिलो साता विशेष महाधिवेशन त भयो, तर त्यसले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई नै गिज्यायो। गगन थापाले आफैंलाई नयाँ नेतृत्वको रूपमा घोषणा गर्नुभयो। पदाधिकारीहरू पनि उहाँ आफैंले चुन्नुभयो। महाधिवेशन भनेको त प्रतिस्पर्धाको थलो हो, तर त्यहाँ निर्वाचन लड्न चाहने साथीहरूले चुनाव लड्ने अवसर नै पाएनन्। हिजो पार्टीमा विधि र विधानको वकालत गर्ने गगन दाइ, आज सत्ता हातमा आएपछि आफैं 'तानाशाह' बन्नुभयो भन्ने आरोप पार्टी पङ्क्तिमा लाग्नु अस्वाभाविक थिएन।
देउवालाई बिर्साउने बेथिति र टिकट वितरण
गगनले नेपाली कांग्रेसको नेतृत्व लिएपछि जनताको आक्रोशलाई सम्बोधन गर्दै केही नयाँपन आउला भन्ने हाम्रो आश थियो। अहिले चुनाव जित्ने अनुहारहरू नयाँ थिए, तर फागुन २१ को निर्वाचनअघि टिकट वितरणमा जे जति चहलखेल भयो, त्यसले हामीलाई लज्जित बनायो। शेरबहादुर देउवाको पालामा हुने बेथितिभन्दा धेरै गुणा बढी बेथिति गगन थापाले देखाउनुभयो। नयाँ र लोकप्रिय अनुहारलाई पाखा लगाउँदै, तिनै पुराना अनुहारहरूलाई पैसा लिएर टिकट बाँडेको चर्चा अहिले चिया पसलदेखि पार्टी कार्यालयसम्म सुनिन्छ।
यही चुनावको प्रचारप्रसारका क्रममा कांग्रेस वृत्तमा एउटा व्यंग्य निकै चर्चित बन्यो, जसले गगन थापाको नेतृत्वको असली अनुहार छर्लङ्ग पारेको छ:
"प्रचारप्रसारका लागि गगन थापाको फोटो फोटोकपी मेसिनमा हालेर निकाल्न खोज्दा, मेसिनले सबै फोटो शेरबहादुर देउवाको पो निकाल्यो !"
यो केवल एउटा ठट्टा थिएन; यो हाम्रो यथार्थ थियो। गगन दाइ शारीरिक रूपमा गगन भए पनि, प्रवृत्ति र कार्यशैलीका हिसाबले उहाँ ठ्याक्कै शेरबहादुर देउवाको 'फोटोकपी' बन्नुभएको छ।
नेतृत्वको असफलता र राजीनामाको माग
यिनै गलत निर्णय, स्वेच्छाचारी प्रबृत्ति र टिकट वितरणमा भएको आर्थिक चलखेलको कारण नेपाली कांग्रेसले नराम्ररी चुनाव हाऱ्यो। यो पराजयको सम्पूर्ण जिम्मा अब सभापतिको हैसियतले गगन थापाले लिनुपर्छ।
उहाँले कुनै बेला सार्वजनिक रूपमै ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको थियो। अहिले उहाँ ५० पुगिसक्नुभयो। तीव्र रूपमा बदलिँदो राजनीतिक परिस्थितिमा अब गगन दाइ पनि 'पुराना' भइसक्नुभयो। कांग्रेसलाई अब उहाँभन्दा नयाँ र साँच्चिकै लोकतान्त्रिक नेतृत्वको आवश्यकता छ। जो मान्छे सन्यास लिने संघारमा छ, उसलाई स–सम्मान बिदा गर्नु नै पार्टीको हितमा हुन्छ। त्यसैले, पार्टीलाई थप धराशायी हुनबाट जोगाउन गगन थापाले नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्छ।
अन्त्यमा, छोटो समय नै सही, सभापति भएर गगन दाइले पार्टीका लागि जे-जति समय र योगदान दिनुभयो, त्यसका लागि नेपाली कांग्रेसले उहाँलाई धन्यवाद भने दिनैपर्छ। तर गगन दाइ, अब मार्गप्रशस्त गर्नुहोस्। पार्टीलाई नयाँ पुस्ताको जिम्मा लगाउनुहोस्।