सार्वजनिक स्थानमा स्मार्टफोन प्रयोग गर्दा गोपनीयता जोगाउने चुनौतीलाई सम्बोधन गर्ने दिशामा सामसुङले निर्णायक संकेत दिएको छ। कम्पनीले हालै “दैनिक क्षणहरू पूर्ण रूपमा निजी राख्न” नयाँ तहको प्राइभेसी ल्याउन लागिएको घोषणा गरेसँगै, ग्यालेक्सी S26 अल्ट्रासँग जोडिँदै आएको प्राइभेसी स्क्रिनसम्बन्धी चर्चालाई बल पुगेको छ।
सामसुङको आधिकारिक प्रेस विज्ञप्तिअनुसार, यो सुविधा फोनको स्क्रिनतर्फ झ्यालझुन्डा हेर्ने व्यक्तिबाट संवेदनशील जानकारी जोगाउन केन्द्रित छ। सार्वजनिक सवारी साधन वा भीडभाडयुक्त स्थानमा सन्देश पढ्दा वा पासवर्ड हाल्दा अरूले सजिलै नदेख्ने वातावरण बनाउने लक्ष्य राखिएको छ।
यो प्राइभेसी प्रणाली पूर्ण रूपमा प्रयोगकर्ताको नियन्त्रणमा रहनेछ। सामसुङका अनुसार, प्रयोगकर्ताले यो सुविधा केही निश्चित एपमा मात्र सक्रिय गर्न सक्छन्, लग–इन वा पासकोड हाल्ने बेला मात्र प्रयोग गर्न सक्छन्, वा सूचना पप–अपजस्ता सीमित भागमा मात्र गोपनीयता लागू गर्न सक्छन्। यसले सम्पूर्ण स्क्रिन सधैँ ढाक्ने परम्परागत प्राइभेसी प्रोटेक्टरभन्दा फरक अनुभव दिने कम्पनीको दाबी छ।
सामसुङले यसलाई “टेलर्ड अप्रोच” अर्थात् आवश्यकताअनुसार मिलाउन सकिने समाधानका रूपमा प्रस्तुत गरेको छ। बाहिरी स्क्रिन प्रोटेक्टरझैँ स्थायी अन–अफ मोड नभई, आवश्यक पर्दा सूक्ष्म रूपमा नियन्त्रण गर्न सकिने गरी यो प्रविधि स्क्रिनमै समावेश गरिएको बताइएको छ।
कम्पनीका अनुसार, यो प्रविधि पाँच वर्षभन्दा बढी समयसम्म इन्जिनियरिङ, परीक्षण र परिष्करणपछि व्यवहारिक चरणमा पुगेको हो। औपचारिक रूपमा थप प्राविधिक विवरणहरू चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ, जसले सामसुङको आगामी प्रिमियम स्मार्टफोन रणनीतिमा गोपनीयतालाई केन्द्रमा राखिएको स्पष्ट संकेत दिन्छ।
यस विज्ञापनमा इच्छुक हुनुहुन्छ?
के तपाईं लिंकमा जारी राख्न चाहनुहुन्छ वा थप विवरणको लागि आफ्नो जानकारी प्रदान गर्न चाहनुहुन्छ?
कृपया तपाईंको विवरण दिनुहोस्
अगाडि बढ्न विवरण भर्नुहोस्
प्रतिक्रिया
0 टिप्पणीsकृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।