नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा तीव्र गिरावट आएको छ। अघिल्लो दिन ऐतिहासिक उचाइमा पुगेको सुनको भाउ एकै दिन २० हजार ५०० रुपैयाँले घट्दै कारोबार साताको अन्त्यमा ओरालो लागेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुन २० हजार ५०० रुपैयाँले घटेर ३ लाख १८ हजार ८०० रुपैयाँमा झरेको छ। बिहीबार सोही दरले बढ्दै सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।

यस उतारचढावलाई हालको बजारमा देखिएको तीव्र अस्थिरताको संकेतका रूपमा हेरिएको छ, जहाँ उच्च मूल्यपछि तत्कालै मूल्य सुधार देखिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको भाउ ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।