स्वास्थ्य बिमा बोर्डले बिमा आबद्ध सम्पूर्ण स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रूपमा अन्यत्र रिफर नगर्न कडा निर्देशन दिएको छ।

बोर्डले बिहीबार जारी गरेको सूचनामा अस्पतालमै उपलब्ध सेवा हुँदाहुँदै पनि बिरामीलाई अन्य स्वास्थ्य संस्थामा पठाइएको गुनासो बढेको उल्लेख गरेको छ। यस्तो अभ्यासले बिरामीलाई अनावश्यक झन्झट र खर्चमा पार्ने बोर्डको ठहर छ।

बोर्डका अनुसार यो अभ्यास स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५, र प्रेषण कार्यविधि २०८० विपरीत छ। यस कारण सम्बन्धित संस्थाहरूलाई तत्काल सुधार गर्न चेतावनी दिइएको छ।

यदि कुनै अस्पतालले सेवा उपलब्ध गराउन नसक्ने अवस्था भएमा, स्वास्थ्य बिमा नियमावली २०७५ को अनुसूची ९ अनुसार प्रेषण पुर्जी भरी नजिकको उपयुक्त स्वास्थ्य संस्थामा बिरामी पठाउन बोर्डले निर्देशन दिएको छ।

निर्देशन उल्लंघन गरी अनावश्यक रिफर गरेको पाइएमा त्यस्ता दाबी रकम सोधभर्ना नगरिने र अनुसूची ८ को दफा ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुन सक्ने बोर्डले स्पष्ट पारेको छ।

यस निर्देशनलाई स्वास्थ्य बिमा प्रणालीलाई अनुशासित बनाउने कडा कदमका रूपमा हेरिएको छ।