विपद् व्यवस्थापनमा खटिने टोलीको हौसला बढाउँदै गृहमन्त्रीद्वारा मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता News Story: गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले निर्वाह गर्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ। चैत्र १७ गते सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण गर्ने क्रममा उहाँले संगठनको कार्यसम्पादन उत्कृष्ट रहेको बताउनुभएको हो। सो अवसरमा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरूको अवलोकन गर्दै मन्त्री गुरुङले आगामी दिनमा सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो।

निरीक्षणका क्रममा गृहमन्त्रीले सशस्त्र प्रहरीका विभिन्न तहका कर्मचारीहरूसँग विगतमा विपद्का समयमा सहकार्य गरेको स्मरण गर्नुभयो। विशेषगरी कोभिड–१९ को संकटका बेला सशस्त्र प्रहरी नायव महानिरीक्षक बिष्णु प्रसाद भट्टसँग मिलेर अक्सिजन सिलिन्डर वितरणमा पुर्‍याएको योगदान र मानवीय सेवाको उहाँले चर्चा गर्नुभयो। यस्तै, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले गृहमन्त्री गुरुङ आफैँले कुरिनटारमा विपद् स्वयंसेवक तालिम लिएको स्मरण गर्दै तालिम प्राप्त मन्त्रीको नेतृत्वमा समन्वय गर्न अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सीमा क्षेत्रमा राष्ट्रिय झण्डा परिवर्तन गर्ने कार्यमा मन्त्री गुरुङको सक्रियताको स्मरण गर्नुभयो। आफ्ना पुराना प्रशिक्षकहरूलाई भेट्न पाउँदा खुसी व्यक्त गर्दै गृहमन्त्रीले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिनुभयो। यसरी प्रत्यक्ष अनुभव र व्यावसायिक तालिम प्राप्त नेतृत्वको समन्वयले आगामी दिनमा नेपालको विपद् व्यवस्थापन प्रणाली अझै प्रभावकारी र परिणाममुखी हुने अपेक्षा गरिएको छ।