काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बद्ध परियोजना कार्यान्वयन निकायहरूले आज भारत सरकारको अनुदान सहयोगमा ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रमबिच कुल अनुमानित लागत नेरु. ८०.३ करोड बराबरका यी परियोजनाहरू शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा केन्द्रित रहने गरी सम्झौता सम्पन्न भएको हो।
नेपालका विभिन्न प्रदेशहरूमा कार्यान्वयन गरिने यी आठ परियोजनाहरूमा कोशी प्रदेशअन्तर्गत सुनसरीको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण, मोरङको बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण रहेका छन्।

यसैगरी बागमती प्रदेशको धादिङ जिल्लास्थित ज्वालामूखी गाउँपालिकामा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण गरिनेछ। कर्णाली प्रदेशअन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण र हुम्लाको सर्केगाड गाउँपालिकामा कृषि प्रवर्द्धन केन्द्र निर्माण गरिनेछ। गण्डकी प्रदेशको स्याङ्जा जिल्लास्थित कालीगण्डकी गाउँपालिकामा भने कोल्ड स्टोरको निर्माण गरिनेछ। यी सम्पूर्ण परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय तथा संस्थाहरूमार्फत कार्यान्वयन गरिनेछन्।
सन् २००३ यता भारत सरकारले आज सम्झौता भएका आठ परियोजनासहित नेपालमा हालसम्म ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। तीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगिता निर्माणका क्षेत्रमा ५१२ वटा परियोजनाहरू निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी परियोजनाहरू कार्यान्वयनका विभिन्न चरणमा रहेका छन्।
दुई छिमेकी मुलुकबिचको व्यापक सहकार्यलाई दर्साउने यी परियोजनाहरूको कार्यान्वयनले प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार निर्माण गर्नुका साथै नेपालको समग्र विकास र समृद्धिको प्रयासलाई थप सुदृढ बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।