नेपाल राष्ट्र बैंकले जाली नोट मुद्रण, ओसारपसार र कारोबार गर्नु गैरकानुनी भएको स्पष्ट गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। बैंकले शंकास्पद नोट प्राप्त भएमा नजिकको प्रहरी कार्यालय, बैंक शाखा, वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा स्रोतसम्बन्धी जानकारी दिन अनुरोध गरेको छ।
सूचनामा उल्लेख भएअनुसार नोट अस्वाभाविक रूपमा चिल्लो, रङ फिका, सुरक्षा धागो बाहिरबाट टाँसिएको वा उभिएका भागहरू सम भएको जस्तो देखिएमा हेरेर, छामेर र ढल्काएर परीक्षण गर्नुपर्ने बताइएको छ। बैंकले रु.१००० र रु.५०० दरका नोटमा रहेका सुरक्षा विशेषताबारे विस्तृत जानकारी दिएको छ।
रु.१००० को नोट प्रकाशतर्फ पार्दा ललिगुराँस र “1000” को पानीछाप देखिने तथा See through register मार्फत पूर्ण “1000” बनेको देखिने बैंकले जनाएको छ। छाम्दा प्रिन्ट गरिएको भाग उठेको महसुस हुने र दृष्टिविहीनका लागि अङ्ग्रेजी अक्षर “M” उभिएको रहने उल्लेख छ। ढल्काउँदा सुरक्षा धागो चलेको जस्तो देखिने, केही भाग silver र iridescent ink सुनौलो देखिने तथा UV light मा सगरमाथा, गभर्नरको सही र नम्बर टल्किने बताइएको छ।
रु.५०० को नोटमा प्रकाशतर्फ पार्दा ललिगुराँस पानीछाप र पूर्ण “NRB” देखिने उल्लेख छ। कागजमा बुनेको सुरक्षा धागोमा “NRB 500” र बाघको आकृति देखिने, छाम्दा उठेको प्रिन्ट र दृष्टिविहीनका लागि दुई थोप्ला हुने जानकारी दिइएको छ। ढल्काउँदा सुरक्षा धागोको रङ रातोबाट हरियोमा र कुखुराको आकृति सुनौलोबाट हरियोमा परिवर्तन हुने तथा UV light मा सगरमाथा, सही र नम्बर टल्किने बताइएको छ।
नेपाल राष्ट्र बैंकले “सजग नागरिक बनौं, सुरक्षित कारोबार गरौं” भन्ने सन्देशसहित गुनासो दर्ता गर्न www.gunaso.nrb.org.np र वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नं. ०१–५७१९६०४ उपलब्ध गराएको छ।