नेपालको कोशी प्रदेश अन्तर्गत झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको आज एक विशेष समारोहका बीच संयुक्त रुपमा शिलान्यास गरिएको छ। कोशी प्रदेश सभा सदस्य माननीय श्री राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर श्री मेगाहाङ्ग थोप्रा र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री गरिमा नौटियालले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो।

भारत सरकारको आर्थिक सहयोगमा करिब नेरु ३ करोडको लागतमा यस विद्यालय भवनको निर्माण कार्य अगाडि बढाइएको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको शिवसताक्षी नगरपालिकामार्फत प्रत्यक्ष रुपमा कार्यान्वयन गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ।
शिलान्यास समारोहमा झापाको शिवसताक्षी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको उच्च प्रशंसा गर्नुभयो। यसका साथै यो नयाँ पूर्वाधारले शिवसताक्षी नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरुका लागि सिकाइ वातावरण सुदृढ गर्न महत्त्वपूर्ण मद्दत पुर्याउने विश्वास समेत उहाँहरुले व्यक्त गर्नुभयो।

नजिका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य लामो समयदेखि रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।
यो पूर्वाधार निर्माणको थालनीले दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै स्थानीय शैक्षिक क्षेत्रको विकासमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ।