मिथिला र मधेस क्षेत्रमा प्रकृति, भाइचारा र सहअस्तित्वको अनुपम अभ्यासका रूपमा रहेको 'जुड शीतल' पर्व आज उत्साहका साथ मनाइँदैछ। नयाँ वर्षको दोस्रो दिन मनाइने यो चाड विशेषगरी बढ्दो गर्मीको समयमा शरीर र प्रकृतिलाई शीतलता प्रदान गर्ने उद्देश्यमा केन्द्रित रहेको छ।
यस पर्वमा घरका ठूला-बडाले सानाहरूलाई टाउकोमा पानी खन्याएर आशीर्वाद दिने परम्परा छ। यसका साथै अनुहारमा माटो लगाएर खुसी साटासाट गर्ने चलनले सामाजिक समानताको सन्देश प्रवाह गर्दछ। सांसद मनिष झाका अनुसार यो माटोले कुनै जात, लिङ्ग वा धर्म चिन्दैन, यसले केवल सिङ्गो समाजको ऐक्यबद्धतालाई झल्काउँछ।
वातावरणीय दृष्टिकोणले पनि यो पर्व उत्तिकै महत्वपूर्ण छ। गर्मीयामको सुरुवातसँगै पानीका स्रोतहरू जस्तै इनार, पोखरी र तलाउहरू सफा गर्ने र जल सञ्चय गर्ने संस्कार यस पर्वसँग जोडिएको छ। स्थानीयहरू यसलाई प्रकृतिसँगको सम्बन्ध नवीकरण गर्ने अवसरका रूपमा लिन्छन्।
माता सीताको जन्मभूमि जनकपुरधामको माटोलाई यहाँका बासिन्दाले ऐतिहासिक र धार्मिक गौरवको रूपमा पुज्ने गर्छन्। केही समय ओझेलमा परेको यो संस्कृति पछिल्लो ७-८ वर्षदेखि पुनः संस्थागत रूपमा प्रवर्द्धन हुन थालेको छ। पञ्चतत्वमध्येको एक 'माटो' ले शरीरलाई शीतलता दिने भएकाले यसको विशेष महत्व रहेको पाइन्छ।
पहिले 'धुर्खेल' का नामले समेत परिचित यो पर्वमा आफन्त र ससुराली जाँदा हिलो-माटोले खेलेर रमाइलो गर्ने चलन थियो। पुर्खाहरूले "हाम्रो आयु तिमीलाई लागोस्" भन्दै तिल मिसाएको जलले गर्ने अभिषेकले परिवारमा आत्मीयता र आशीर्वादको गहिराइलाई झल्काउँछ।