काठमाडौँस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा हरितालिका तीजको अवसरमा दर्शनार्थीको अत्यधिक भिडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनसहितका सेवा सञ्चालन गरेका छन्।
भदौ २९ गते तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३:१५ बजेदेखि नै खुला गरिएको थियो। प्रहरीका अनुसार बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेका छन्।
दर्शनार्थीको सहजताका लागि प्रहरीले सहजीकरणका साथै सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापन जस्ता सेवाहरू प्रदान गरिरहेको छ। सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन र आधुनिक सञ्चार प्रविधिको प्रयोग गरिएको छ। सादा पोसाकका सुरक्षाकर्मी, बर्दीधारी महिला तथा पुरुष प्रहरी र विपद् उद्धार टोली क्षेत्रभर खटाइएको छ।
सुरक्षा व्यवस्थापनका लागि दुई सिफ्टमा गरी २ हजार ५ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिएको छ, जसमा एक सिफ्टमा करिब १ हजार २ सय ५० प्रहरी खटिएका छन्। मेला अवधिभर कुनै अवाञ्छित गतिविधि हुन नदिन परिसर र आसपासका क्षेत्रमा सादा पोसाकमा विशेष टोली परिचालन गरिएको छ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालले गएराति २ बजेदेखि नै करिब ८ सय जनशक्ति परिचालन गरी सुरक्षा, स्वास्थ्य र खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ। बलम्बुस्थित नेपाल एपीएफ अस्पतालबाट महिला चिकित्सकसहितको मेडिकल टोली र एम्बुलेन्स तैनाथ गरिएको छ भने प्रधान कार्यालयबाट खानेपानी ट्यांकरसहितको टोली परिचालन गरिएको छ।
पशुपति क्षेत्रको राम मन्दिरनजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ। यसका साथै तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी, विश्वरूपा मन्दिर र गौरीघाटलगायतका क्षेत्रमा गस्ती बढाइएको छ। सुरक्षा निकायबीच समन्वयका लागि पशुपति परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दर्शनार्थीको सुरक्षा र सहजताका लागि सम्पूर्ण आवश्यक प्रबन्ध मिलाइएको छ।