ललितपुरस्थित ऐतिहासिक ज्येष्ठ वर्ण महाविहारले आफ्नो जीवन्त समुदाय-केन्द्रित पुनर्निर्माणका लागि प्रतिष्ठित २०२५ युनेस्को एसिया-प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ। नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले शुक्रबार आयोजित एक विशेष समारोहबीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा उक्त पुरस्कारको धातुपट्टिका र आधिकारिक प्रमाणपत्र महाविहार उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा स्थानीय समुदाय, सम्पदाविद् तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता थियो।

२०७२ सालको विनाशकारी गोरखा भूकम्पपछि भारत सरकारले अघि बढाएको सांस्कृतिक सम्पदा पुनर्निर्माण अनुदान अन्तर्गत नेरु. १३.७८ करोडको लागतमा यस महाविहारको संरक्षण कार्य सम्पन्न भएको हो। यस परियोजनाको प्राविधिक सहजीकरणका लागि भारत सरकारले इन्डियन नेशनल ट्रष्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) लाई परामर्शदाता नियुक्त गरेको थियो। इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयू) र स्थानीय बासिन्दासँगको निकट समन्वयमा पुनर्निर्माण कार्य अघि बढाएको थियो, जसको उद्घाटन २०८० चैतमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र तत्कालीन सहरी विकास मन्त्री धनबहादुर बुढाले गर्नुभएको थियो।

युनेस्कोले यस संरक्षण परियोजनालाई जटिल ऐतिहासिक नेवारी काष्ठकला र परम्परागत वास्तुकलाको मौलिकता कायम राख्दै आधुनिक भूकम्पीय सुरक्षा प्रबलीकरणलाई सफलतापूर्वक आत्मसात् गरेकोमा विशेष मान्यता दिएको हो। सबैभन्दा महत्त्वपूर्ण पक्ष, पुनर्निर्माणको लामो अवधिभर नेवार बौद्ध समुदायको दैनिक धार्मिक अनुष्ठान, सांस्कृतिक अभ्यास र जीवन्त परम्पराहरू बिनाकुनै अवरोध निरन्तर रूपमा सञ्चालन हुने वातावरण सुनिश्चित गरिएको थियो।

ADVERTISEMENT Xtreme - Inside

समारोहमा बोल्दै भारतीय दूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेले उपभोक्ता समिति र सम्बद्ध सबै निकायलाई बधाई दिँदै यस परियोजनाको सफलताले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो। उहाँले नेपालको समृद्ध सम्पदा संरक्षणमा भारत सधैँ साझेदार रहने प्रतिबद्धता दोहोर्‍याउनुभयो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका ऐतिहासिक सम्पदाहरूको पुनरुत्थानमा आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो। यस्तै, ज्येष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले समयमै प्राप्त सहायताप्रति धन्यवाद ज्ञापन गर्दै पुनर्स्थापित महाविहार नेपाली समुदायको उत्थानशीलता र दुई देशबीचको अटुट मित्रताको एउटा बलियो प्रतीकका रूपमा खडा रहने धारणा राखे।

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई कुल १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता गरेको थियो। सोही अन्तर्गत काठमाडौँको सेतो मच्छिन्द्रनाथ मन्दिर, ललितपुरको कुमारी घर, भक्तपुरको जंगम मठ र सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बासहित नेपालका ८ जिल्लाका ३० वटा सम्पदा क्षेत्रको संरक्षण भइरहेको छ। हालसम्म १७ वटा सांस्कृतिक सम्पदा, ५० हजार निजी आवास, ७० वटा विद्यालय र १२२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अन्य दर्जनौँ आयोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका छन्, जसले नेपालको सामाजिक-आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास गरिएको छ।