गत शुक्रबार र शनिबारको झरीपछि काठमाडौँ उपत्यकाको प्रकृतिले नयाँ काँचुली फेरेको छ। लामो समयदेखि वायुमण्डलमा जमेर बसेको धुलो र प्रदुषणलाई वर्षाले बगाएपछि अहिले उपत्यकाको आकाश कञ्चन नीलो देखिएको छ। यो वातावरणीय सुधारसँगै काठमाडौँको एक छेउबाट अर्को छेउका मानव निर्मित संरचना र प्राकृतिक डाँडाकाँडाहरू अत्यन्तै स्पष्ट र मनमोहक देखिएका छन्। आकाशमा तैरिएका सेता बादलका थुप्राहरूले शहरको सौन्दर्यमा थप निखार ल्याएका छन्।
मौसममा आएको यो सुखद परिवर्तनले उत्तरतर्फका मुस्कुराइरहेका हिमश्रृङ्खलाहरूलाई उपत्यकाका अग्ला स्थानबाट प्रत्यक्ष अवलोकन गर्ने अवसर जुराएको छ। वर्षाले वायुमण्डलमा रहेका सूक्ष्म धुलोका कणहरूलाई जमिनमा झारिदिएपछि 'भिजिबिलिटी' मा उल्लेख्य वृद्धि भएको हो। विशेषगरी नागार्जुन र स्वयम्भू क्षेत्रका हरियाली डाँडाहरू तथा त्यहाँ अवस्थित गुम्बा र मन्दिरहरू नीलो आकाशको पृष्ठभूमिमा निकै आकर्षक देखिएका छन्। यसले शहरबासीलाई कोलाहल र प्रदुषणबाट मुक्त भई प्रकृतिसँग एकाकार भएको महसुस गराएको छ।
वायुको गुणस्तरमा आएको यो सुधारले जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारेको छ। सडकमा यात्रा गर्ने चालक र पैदलयात्रीहरूले धुलो र धुवाँबाट ठूलो राहत पाएका छन्। हिउँदको अन्त्य र वसन्तको आगमनको समयमा भएको यो वर्षाले सुक्खा हुन लागेका बोटबिरुवामा नयाँ पालुवा पलाउन मद्दत पुर्याएको छ। अहिले काठमाडौँका सडक र घरका छानाहरू सफा देखिएका छन्। यो प्राकृतिक शुद्धीकरणले गर्दा मानिसहरू बिहानी र बेलुकीको समयमा तस्बिर खिच्न र घुमफिर गर्न डाँडाकाँडाहरूमा निस्कने क्रम बढेको छ। प्रदुषणमुक्त स्वच्छ हावामा फेर्न पाइएको फेरिएको सासले उपत्यकाबासीको दैनिक जीवनमा नयाँ ऊर्जा थपेको देखिन्छ।