जिल्ला प्रहरी परिसर काठमाडौंले विचाराधीन मुद्दाका सम्बन्धमा भ्रामक र गलत सूचना प्रवाह नगर्न चेतावनी दिएको छ। विशेषगरी उच्च पदस्थ व्यक्तिहरू जोडिएको ज्यान सम्बन्धी कसूरको अनुसन्धानलाई लिएर सञ्चारमाध्यममा आएका सामग्रीले जनमानसमा गलत सन्देश दिएको प्रहरीको ठहर छ।
प्रहरीका अनुसार केपी शर्मा ओली र रमेश लेखक आरोपी रहेको ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालयको निर्देशन बमोजिम अनुसन्धान भइरहेको छ। हाल आरोपीहरूलाई माथवर व्यक्तिको जमानीमा राखेर कानुनी राय र परामर्शका आधारमा स्वतन्त्र अनुसन्धान अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।
यसै सन्दर्भमा २०८२ चैत ३० गते 'सिधाकुरा' नामक युट्युब च्यानलमा प्रसारित "ओली लेखकको अनुसन्धानमा झेल?" शीर्षकको भिडियोप्रति प्रहरीले गम्भीर आपत्ति जनाएको छ। करिब १३ मिनेट लामो उक्त सामग्रीमा व्यक्त गरिएका धारणा र सूचनाहरू निराधार र अनर्गल रहेको प्रहरी परिसरको भनाइ छ।
जिम्मेवार प्रहरी अधिकृतहरूलाई समेत जोडेर भ्रम सिर्जना गरिएको भन्दै प्रहरीले यस्ता अप्रमाणित समाचारले अनुसन्धान प्रक्रियामा असर पुर्याउने जनाएको छ। प्रहरीले अनुसन्धान विधिसम्मत र पारदर्शी ढंगले भइरहेको दाबी गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेको छ।
प्रहरीले सम्बन्धित सबैलाई भ्रामक र अप्रमाणित सूचना सिर्जना एवं प्रसारण नगर्न अनुरोध गर्दै कानुनी प्रक्रियामा सहयोग गर्न अपिल गरेको छ। आगामी दिनमा अनुसन्धानको प्रगतिबारे आधिकारिक माध्यमबाटै जानकारी गराइने समेत प्रहरीले उल्लेख गरेको छ।