उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाले किम जोङ उनलाई पुनः महासचिवमा सर्वसम्मत चयन गरेको छ, जसले शीर्ष नेतृत्वमा निरन्तरता सुनिश्चित गरेको छ।

राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार फेब्रुअरी १९ देखि सुरु भएको पार्टी महासभाले उक्त निर्णय गरेको हो। करिब पाँच हजार सदस्य सहभागी रहेको यो बैठकलाई देशको सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा लिने गरिन्छ।

किम जोङ उन शीर्ष नेतृत्वमै कायम रहे पनि ३९ सदस्यीय कार्यकारी समितिमा व्यापक फेरबदल गरिएको बीबीसीले जनाएको छ। सन् २०२१ को अघिल्लो बैठकपछि समितिका आधाभन्दा बढी सदस्य परिवर्तन गरिएको राज्य सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सन् २०११ मा पिता किम जोङ इलको निधनपछि सत्ता सम्हालेका किमले आणविक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन्। केसीएनएका अनुसार उहाँको नेतृत्वमा देशको युद्ध प्रतिरोध क्षमता उल्लेखनीय रूपमा सुदृढ गरिएको छ।

अन्तर्राष्ट्रिय प्रतिबन्धबीच पनि उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणसहित आणविक कार्यक्रम अघि बढाउँदै आएको बताइन्छ। यद्यपि शासन प्रणालीको गोपनीय प्रकृतिका कारण सैन्य प्रगतिबारे स्वतन्त्र मूल्यांकन गर्न कठिन मानिन्छ।

महासभा चौथो दिनमा प्रवेश गर्दा हतियार कार्यक्रमको आगामी चरण सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। उद्घाटन सम्बोधनमा किमले अर्थतन्त्र सुधार र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो।