काठमाडौं । नेपाली सञ्चार क्षेत्रमा अनेकौं प्रकृतिका पत्रकारिताको अभ्यास भइरहेको बेला खोजमूलक समाचारका लागि चिनिएका 'जनआस्था'का प्रधान सम्पादक किशोर श्रेष्ठ यतिबेला निसानामा परेका छन्। निवर्तमान गृहमन्त्री सुदन गुरुङको अस्वाभाविक सम्पत्ति विवरणसम्बन्धी समाचार सतहमा ल्याएपछि श्रेष्ठमाथि गुरुङका समर्थक र कार्यकर्ताहरूले नियोजित रूपमा आक्रमण सुरु गरेका हुन्।

समाचार प्रकाशित भएलगत्तै सामाजिक सञ्जाललगायतका माध्यमबाट श्रेष्ठविरुद्ध घृणा फैलाउने, मानमर्दन गर्ने, गालीगलौज गर्ने र उनलाई दानवीकरण गर्ने प्रयास भइरहेको छ।

नेपालको रङ्गीचङ्गी मिडिया उद्योगमा सुकिला-मुकिला, ब्रान्डेड, अंग्रेजी बोल्ने, अन्तरवार्ता लिएरै सेलिब्रेटी बनेका र टेलिभिजनको पर्दामा देखिएर नेतालाई गाली गर्ने पत्रकारहरूको ठूलो भिड छ। तर, यो सप्तरङ्गी भिडमा किशोर श्रेष्ठ भने सधैं आफ्नो पृथक र भित्री तहको खोजमूलक कन्टेन्टका कारण चिनिन्छन्। अनवरत रूपमा पर्दा पछाडिका खेलहरू बाहिर ल्याउने उनको आफ्नै विशिष्ट शैली छ।

श्रेष्ठको सूचना स्रोत निकै बलियो र विश्वसनीय मानिन्छ। त्यसैकारण सत्ताको भित्री तहदेखि सुरक्षा निकायसम्म उनको समाचारको गहिरो प्रभाव छ। जनआस्था पत्रिकाको प्रभाव कतिसम्म छ भने, सेना र प्रहरीका तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीहरूले समेत यो पत्रिका शौचालयमा गएर लुकेर पढ्ने गरेको चर्चा मिडिया वृत्तमा सदियौंदेखि चल्दै आएको छ।

भरपर्दो सूचना र प्रमाणसहित समाचार आउने हुँदा सेना, प्रहरी, उच्च सरकारी कर्मचारी, कालोबजारी गर्ने व्यापारी र नेताहरू कतिखेर 'जनआस्था'मा आफ्नो कुन काण्ड बाहिर आउँछ भनेर सधैं त्रसित रहने गरेका छन्।

यसै सन्दर्भमा, निवर्तमान गृहमन्त्रीको सम्पत्ति विवरणको पर्दाफास गरेपछि पूर्वमन्त्रीका कार्यकर्ताहरू अत्तालिँदै सम्पादक श्रेष्ठको चरित्र हत्यामा उत्रिएका हुन्। यद्यपि, यस्ता धम्की र गालीगलौजले आफ्नो खोज पत्रकारिता नरोकिने सन्देश श्रेष्ठको विगतको ट्रयाक रेकर्डले देखाउँछ।