पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।

अस्पताल स्रोतका अनुसार मोहनप्रसाद ओलीको आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा भर्ना भएका थिए।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी भइरहेको छ। परिवारका सदस्य र आफन्तलाई अन्तिम श्रद्धाञ्जली दिन सकिने गरी त्यहाँ राखिने जनाइएको छ।

ओलीको सचिवालयका अनुसार आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने तयारी गरिएको छ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।

उनको निधनपछि परिवारजन, राजनीतिक व्यक्तित्व तथा शुभेच्छुकहरूले शोक व्यक्त गरिरहेका छन्।