कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकमा विद्यमान कानूनी शून्यता चिर्न कानून निर्माणको कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउने दृढता व्यक्त गर्नुभएको छ। आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्घीय संसदलाई गफ गर्ने थलो मात्र नभई वास्तविक काम गर्ने कार्यथलोको रूपमा स्थापित गर्ने योजना अघि सार्नुभयो।

सभामुख पदमा सांसद डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा मन्त्री गौतमले सरकार र संसदबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो। उहाँका अनुसार अबको संसदले केवल नीति मात्र बनाउने नभई शासन व्यवस्थालाई प्रभावकारी बनाउन र सरकारलाई निरन्तर उत्तरदायी बनाउन खबरदारी समेत गर्नेछ।

निर्णय प्रक्रियामा हुने ढिलासुस्तीलाई तोड्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री गौतमले अबको संसदको पहिचान 'काम गर्ने संसद' का रूपमा हुनुपर्नेमा जोड दिनुभयो। जनताका आधारभूत आवश्यकता र मागलाई सम्बोधन गर्न कानून निर्माणमा हुने आलटाललाई अब स्वीकार गर्न नसकिने उहाँको स्पष्टोक्ति थियो। कानूनमन्त्रीको हैसियतले आफू संसद र कार्यपालिकाबीच प्रभावकारी समन्वय गरी विधायीकी प्रक्रियालाई गति दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँले सदनलाई विश्वास दिलाउनुभएको छ।

अबका दिनमा मन्त्रालयले कति छिटो कानूनी मस्यौदाहरूलाई सदनमा पेस गर्छ र ती सर्वसम्मतिले पारित हुन्छन् भन्ने कुराले नै मन्त्रीको यो प्रतिबद्धताको परीक्षण गर्नेछ।