भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बस्नेतले उच्च राजनीतिक शिष्टाचार प्रदर्शन गरेका छन्। भक्तपुर क्षेत्र नं. २ मा भएको निर्वाचनमा पराजय भएसँगै धेरैले उनीबाट आक्रोशपूर्ण र अराजक प्रतिक्रिया आउने अपेक्षा गरेका थिए। तर, ती सबै अनुमानलाई गलत साबित गर्दै बस्नेतले लोकतान्त्रिक संस्कार देखाएका छन्।
आफ्ना प्रतिस्पर्धी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विजयी उम्मेदवार राजीव खत्रीलाई उनले सहज रूपमा बधाई तथा शुभकामना दिएका हुन्।
आफ्नो कडा र खरो स्वभावका कारण बेलाबेला चर्चामा आउने बस्नेतले हारपछि पनि संयमता अपनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। जनताको निर्णयलाई सर्वोपरि मान्दै उनले पराजयलाई सम्मानपूर्वक स्वीकार गरेका हुन्।
बधाई दिँदै उनले फेसबुकमा यस्तो लेखेका छन्:
"भक्तपुर क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचनमा सहभागी भएको थिएँ। यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु।
विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
सूर्य चिन्हमा मतदान गरी मप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू, तथा चुनावी अभियानमा दिनरात खटिनुहुने पार्टीका साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया हो। तर जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन। अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ। जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछौं।
जनताको विश्वास, माया र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो। बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहनेछ।"
धेरैले पराजयपछि बस्नेतले कडा टिप्पणी गर्ने अपेक्षा गरे पनि उनले देखाएको यो शालीनता र 'रचनात्मक प्रतिपक्ष' बन्ने प्रतिबद्धताको यतिबेला राजनीतिक वृत्तमा सकारात्मक चर्चा भइरहेको छ।