कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनलाई अब वातावरणीय समस्याको घेराबाट बाहिर निस्केर आर्थिक र सामाजिक संकटको रूपमा बुझ्नुपर्ने बताउनुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपालजस्ता न्युन कार्बन उत्सर्जन गर्ने मुलुकहरूले समेत यसको गम्भीर असर खेपिरहनुपरेको यथार्थ प्रस्तुत गर्नुभयो।

हिमनदीहरू पग्लिने क्रम बढ्नु, बेमौसमी वर्षा हुनु र बाढीपहिरो तथा खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले जनजीवन र देशको समग्र विकास प्रक्रियामा ठूलो अवरोध पुर्‍याएको उहाँको भनाइ छ। मन्त्री चौधरीका अनुसार नेपालले अन्तर्राष्ट्रिय प्रतिवद्धता बमोजिम राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार पारेर पेस गरिसकेको भए तापनि त्यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको मुख्य चुनौती बनेको छ।

उहाँले जलवायु संकटको दीर्घकालीन समाधानका लागि संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसहित निजी क्षेत्र र नागरिक समाजको सक्रिय सहकार्यमा जोड दिनुभयो। वन तथा जैविक विविधता संरक्षणमा नेपालले पाएको अन्तर्राष्ट्रिय प्रशंसाको चर्चा गर्दै उहाँले वातावरणीय सन्तुलन कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। आगामी दिनमा सबै सरोकारवालाहरू जिम्मेवार भई जलवायु प्रतिकार्यमा जुटे मात्र विकासको यात्रा सुरक्षित हुने विश्वास मन्त्रीले व्यक्त गर्नुभएको छ।